नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

यज्ञराज बने नेकपा ओखलढुङ्गाको ईञ्चार्ज

विवेश श्रेष्ठ, साउन ५ ओखलढुङ्गा । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालयको बैठकले ७७ ओटै जिल्लाको जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको टुङ्गो लगाएको छ । नेकपाले जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको टुङ्गो लगाएसगै ओखलढुङ्गाको इञ्चार्जमा भने संघिय सांसद यज्ञराज सुनुवारलाई जिम्मेवारी दिएको छ ।

संघिय प्रतिनिधि सभाका सांसद समेत रहेका सुनुवार यसअघि तत्कालिन नेकपा एमालेका जिल्ला इञ्चार्ज थिए । माओवादी र एमाले एकता भएसगै जिल्लाको इञ्चार्ज र सहईञ्चार्जका लागि नेताहरुले दौड धुप गरेका थिए । नेकपाले ओखलढुङ्गामा पूर्वएमालेका नेतालाई इञ्चार्जको जिम्मेवारी दिएपनि सहईञ्चार्जको जिम्मेवारी भने कसैलाई तोकेको छैन ।

जिल्ला ईञ्चार्ज पूर्व एमाले र सहईञ्चार्जमा पूर्व माओवादीको बनाउने छलफल चलेको भएपनि यसपटक नेकपाले त्यसो गरेको छैन । पूर्व माओवादीको भागमा रहेको भनिएको उक्त पदमा नेता बाबुराम गौतम चयन गर्ने चर्चा चलेपनि आईतबारको नेकपा सचिवालय बैठकले कुनै निर्णय गरेको छैन ।

त्यसैगरि नेकपा सोलुखुम्बुको जिल्ला ईञ्चार्जमा पूर्व माओवादीका राजेन्द्र खड्का र सहईञ्चार्जमा किशोर अधिकारीको चर्चा चलेको भएपनि जिल्ला ईञ्चार्जमा नेकपाले शिबबहादुर बस्नेत र सहइन्चार्जको जिम्मेवारी हेमकुमार राईलाई दिएको छ ।

नेकपाको आज बसेको सचिवालयको बैठकले ७७ जिल्ला मध्ये १६ ओटा जिल्लामा जिल्ला ईञ्चार्ज मात्रै तोकेको छ । जिल्ला ईञ्चार्ज मात्रै तोकिएको जिल्लामा ओखलढुङ्गा, ईलाम, धनकुटा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, दार्चुला, डोल्पा, हुम्ला, प्युठान, गुल्मी र नवलपरासी पश्चिम रहेका छन् ।

नेकपाले सबैभन्दा बढि सिरहामा १० जना सहईञ्चार्ज तथा काठमाण्डौं र धनुषामा ९/९ जना सहईञ्चार्ज बनाएको छ । नेकपाको सचिवालयको आईतवारको बैठकले केन्द्रका विभिन्न विभागिय प्रमुखहरुको समेत टुङ्गो लगाउने भनिए पनि त्यसको टुङ्गो भने लगाउन सकेन । त्यसका लागि मंगलबारका लागि बैठक बोलाएको छ ।