नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भिजन आइडल सिजन तिनको उपाधि गंगामायालाई

ओखलढुङ्गान्युज, साउन २ ओखलढुङ्गा । भिजन आइडल सिजन तिनको फाईनल सकिएको छ । आज फाईनल राउण्ड सकिएसँगै सिजन तिनको उपाधि गंगामाया दुरालले हात पारेकी हुन् । ओखलढुङ्गामा सञ्चालित एकल गायन प्रतियोगिता (भिजन आइडल) को उपाधि चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दुकी २३ वर्षिया दुरालले जितेकी हुन् ।

आइडलमा प्रतिस्पर्धी रहेका ४५ जना सहभागीहरु मध्ये ४४ जनालाई पछि पार्दै दुरालले उपाधि चुमेकी हुन् । आईडलको फाईनल राउण्ड सकिदा चिशंखुगढीको माम्खाका रेजिमान राई फस्ट रनरअप (द्वितिय) र सिद्धिचरण नगरपालिकाका अविन राई सेकेण्ड रनरअप (तृतीय) भएका छन् ।

स्थानीय स्तरका नवप्रतिभावान कलाकारहरुको क्षमताको विकास गर्ने उद्देश्यका साथ विगत दुईवर्ष देखी आइडल सञ्चालन गरिएको आयोजक भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार २०७३ साल देखि भिजन नेपालको वार्षिकोत्सवको अवसर पारेर ओखलढुङ्गामा हरेकवर्ष भिजन आइडल सञ्चालन हुँदै आएको छ ।

आईडलको निरन्तरता स्वरुप यसवर्ष तेस्रो संस्करण सञ्चालन भएको थियो । तेस्रो संस्करणमा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीहरुलाई आयोजकको तर्फवाट मेडल र मायाको चिनो प्रदान गरिएको थियो । 

आइडलमा उत्कृष्ट हुनेहरुलाई संघिय प्रतिनिधिसभाका सांसद माननिय यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य लगायतले पुरस्कृत गर्नुभएको थियो ।

विगत तीन वर्ष यता ओखलढुङ्गामा आफ्नो स्थापना दिवसको अवसरमा भिजन नेपालले वर्षेनी भिजन आइडल सञ्चालन गर्दै आएको छ । भिजनले हरेकवर्ष साउन २ गते फाईनल गर्ने गरि भिजन आइडल र फाल्गुण २ गते फाइनल गर्ने गरि भिजन डान्सिङ स्टार सञ्चालन गर्दै आएको छ । २०७३ साउन २ गते स्थापना भएको भिजन नेपालले ओखलढुङ्गामा भिजन एफएम ९० दशमलब ५ मेगाहर्ज र भिजन पत्रिका साप्ताहिक प्रकाशन तथा प्रशारण गर्दै आएको छ ।