नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

सिद्धिचरण नगरपालिकाको २०७६–७७ को बजेट ६१ करोड ३३ लाख

विवेश श्रेष्ठ, असार ११, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजित बजेट सार्बजनिक गरिएको छ । मंगलवारवाट ओखलढुङ्गामा सुरु भएको चौंथो नगरपरिषदलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले आर्थिक वर्ष २०७६/०७७ का लागि रु ६१ करोड ३३ लाख ९९ हजारको आर्थिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नगरपालिकाको सभाहलमा सुरु भएको चौंथो नगरपरिषदलाई सम्बोधन गर्दै नगर उपप्रमुख गुरुङले आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो । सार्वजनिक आर्थिक बजेट तथा कार्यक्रममा केन्द्र सरकारवाट वित्तीय समानीकरणमा रु १० करोड ६७ लाख, राजश्व बाँडफाँडवाट रु ८ करोड ५२ लाख, प्रदेश सरकारवाट वित्तीय समानीकरणमा ७१ लाख ८० हजार यस आर्थिक वर्षमा नगरपालिकालाई प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरि सवारी कर बाँडफाँडवाट रु १ करोड १७ लाख १९ हजार, संघिय तथा प्रदेश सरकारवाट समपुरक र विशेष अनुदान वापत रु ५ करोड ५० लाख, संघिय सरकारवाट सशर्त अनुदान रु २४ करोड ७९ लाख, सामाजिक सुरक्षा भत्ता वापत ७ करोड ६० लाख र सिद्धिचरण नगरपालिका आफैले उठाउने आन्तरिक श्रोतवाट रु २ करोड ३७ लाख गरि आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाको ६१ करोड ४३ लाख ९९ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

अनुमानित गरिएको आम्दानी तर्फको रु २४ करोड ७९ लाख बजेट संघिय सरकारवाट नै शशर्त अनुदान वापत शीर्षकगत रुपमा नै विनियोजत भएर आएको छ । संघिय तथा प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व वाँडफाँड, समपुरक अनुदान र विशेष अनुदान मार्फत प्राप्त हुुने कूल रु २८ करोड ९४ लाख ९९ हजारको ४० प्रतिशत अर्थात १० करोड ८५ लाख ५३ हजार ६ सय चालु खर्च वापत खर्च हुनेछ । बाकी ६० प्रतिशत अर्थात रु १८ करोड ९ लाख रुपैया नगरपालिकाको विकासको लागि खर्च हुने सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

नगरपालिकाको आर्थिक विकास शीर्षक अन्तर्गत कृषि, उद्योग तथा वाणिज्य, प्राचिन, ऐतिहासिक, पुरातात्विक धरोहर संरक्षण र विकास, पर्यटन, सहकारी र वित्तिय क्षेत्रका लागि एकमुष्ठ रु १ करोड ९१ लाख २९ हजार रुपैया विनियोजन गरेको छ । यस बजेटले उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने, बाझो जमिन राख्नेलाई निरुत्साहित गर्दै गाउँवाट पलायन भएका युवालाई जिल्लामा नै फिर्ताका लागि आवश्यक कार्यक्रम संचालन गर्ने, आन्तरिक तथा वाह्य पर्यटनको प्रबर्धनको लागि होम स्टे सञ्चालन गरिने उल्लेख छ ।

त्यसैगरि नगरपालिकाको पाचौ नगर परिषदवाट आर्थिक वर्ष २०७६/०७७ का लागि सामाजिक विकास तर्फ रु १ करोड ६८ लाख, पूर्वाधार विकासका लागि रु ७ करोड २२ लाख ८० हजार बजेट विनियोज गरिएको छ । नगरपालिकाले वातावरण तथा विपद् व्यबस्थापनका लागि एकमुष्ठ रु २७ लाख, संस्थागत विकास, शुशासन एवम् सेवा प्रवाहका क्षेत्रमा हुने कार्यक्रम सञ्चालनका लागि रु ६३ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

नगरपालिकाले संघिय तथा प्रदेश सरकार मार्फत सञ्चालन हुने समपुरक अनुदान मार्फत सञ्चालन हुने योजना कार्यक्रमको लागि १ करोड ५० लाख, नगरपालिकाको सुबिधा सम्पन्न प्रशासनिक भवन निर्माणका लागि रु १ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन हुने विबिध खेलकुद कार्यक्रम सञ्चालनका लागि समेत बजेट विनियोजन गरेको छ । नगरपालिकाले प्रथम मेयर कप खेलकुद प्रतियोगिता सञ्चालनको लागि आर्थिक वर्ष २०७६/०७७ मा रु २० लाख विनियोजन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष झै गरिबहरुको घरको पहिचान गरि खरको छानोलाई विस्थापित गराउन गरीबलाई टिनको छाना, शिक्षाको गुणस्तरलाई सुधार गर्नका लागि निजी श्रोतका शिक्षकहलाई तलब भत्ताको व्यबस्थापन तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपलब्ध गराईने गरिएको प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण अगाडी सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा गत आर्थिक वर्षको महत्वकांक्षी योजनाहरुलाई निरन्तरता दिनुका साथै केही नयाँ योेजनाहरु समेत समाबेश गरिएको छ । जस अन्तर्गत बधशाला देखी भान्सा सम्म स्वस्थ्य र स्वच्छ मासु, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धनका लागि होम स्टे, विद्यालयमा ल्याउ, टिकाउ र सिकाउ अभियानलाई निरन्तरता रहेको छन् ।

त्यस्तै दुई मात्रै छोरी जन्माई स्थायी परिवार नियोजन गरेका जोडीलाई प्रोत्साहन, नगरपालिकाको प्रत्येक वडामा एक वडा बराबर एक खेलमैदान, मेयर राहत कोषको स्थापना, आफ्नो ठाउँ आफै सफा गरौं, कमैचारीको मनोबललाई उच्च बनाई राख्न प्रत्येक वर्ष १ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान, ९० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई बार्षिक ४ हजार नगद सहित सम्मान, गरिबलाई टिनको छानो, शुन्य पेश्की शुन्य बेरुजु जस्ता महत्वपूर्ण योजनाहरुलाई थप तथा निरन्तरता दिईएको छ ।