नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

सरकारी कागजात किर्ते गर्ने ओखलढुङ्गाको सुनकोशी ९ का तामाङ पक्राउ

ओखलढुङ्गान्युज, जेठ १७ ओखलढुङ्गा । सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा ओखलढुङ्गा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा नं. ९ ककनीका पञ्च बहादुर तामाङ रहेका छन् । सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पक्राउ परेको तामाङले वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद सर्जमिन मुचुल्काका साथै अन्य कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका हुन् । वडा नं. ९ मा वन्ने तयारीमा रहेको स्वास्थ्य युनिटलाई निशुल्क जग्गा पास गर्न मालपोत कार्यालय पुगेका स्थानीयहरुले किर्ते कागजात देखेपछि वडा अध्यक्षलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ तत्काल वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ मालपोत कार्यालयमा पुगेको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

आफ्नै बाजेका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न किर्ते गरेर कागजात पेश गरेको पाइएकाले अनुसन्धानका लागि प्रहरीलाई खबर गरिएको वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । अन्य क्षेत्रमा समेत वडा कार्यालयको कागजात किर्ते भएको हुन सक्ने भन्दै वडा कार्यालयका कागजात किर्ते गर्नेमाथि अनुसन्धान गर्न प्रहरीमा लिखित उजुरी दिएको समेत उहाँले बताउनुभयो ।

प्रहरीले तामाङलाई बुधबार पक्राउ गरेर हिरासतमा राखेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । किर्ते गर्ने काममा संलग्नहरुबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक श्रेष्ठको भनाइ छ ।

पक्राउ परेका तामाङले सबै किर्ते आफूले गरेको प्रहरीलाई बताएका छन् । आफ्नै बाजेको जग्गा नामसारी गर्न किर्ते गर्ने कुरा विश्वास गर्न नसकिने भएकाले यसमा अन्य व्यक्ति पनि संलग्न भएको आशंका गरिएको छ ।

सर्जमिन मुचुल्का, सिफारिस लगायतमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन् । उनीहरुले आफ्नो नाममा किर्ते भएको भन्दै वडा कार्यालयमा उजुरी समेत गरेका छन् ।