नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नर्मदेश्वरमा स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढिले लिए सेवा

विएन श्रेष्ठ, जेठ ११ नर्मदेश्वर । ओखलढुङ्गा जिल्लाको नर्मदेश्वरमा शुक्रबारदेखी जारी वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नर्मदेश्वर सेवा समाजको मुख्य आयोजनामा सम्पन्न दुईदिने स्वास्थ्य शिविरमा ६ सय ३ जनाले सेवा लिएका छन् । शिविरमा लिखु गाउँपालिका र छिमेकी चम्पादेवी गाउँपालिकाका नागरिकहरुले समेत स्वास्थ्य शिविरमा सेवा लिएका हुन् ।

शुक्रबार देखी शनिवार दिउसो सम्म सञ्चालन भएको सेवामा विशेष गरि स्त्री रोग, भिडियो एक्सरे, दन्त चिकित्सक सेवा, हाड जोर्नी, आखाँको जाँच, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । सिविरमा चेक जाँच गरेका मध्ये १ सय भन्दा बढिले भिडियो एक्सरे गराएका छन् । जसमा गर्भवती तथा सुत्केरी एवम् आङ् खसेका महिलाहरुले सेवा लिएको आयोजकले जनाएको छ ।

शिविरमा सेवा लिन आएका र आफ्नो फाँटमा सेवा लिन आएका महिला मध्ये २१ जना महिलालालाई रिङ प्रेसरी राखिएको छ । केही विरामीको सन्दर्भमा भने थप उपचार गर्नुपर्ने भएकोले अन्य अस्पतालमा रिफर गरिएको तामाकोसी सहकारी अस्पतालका डाक्टर सुमन कर्मचार्यले जानकारी दिनुभयो । ईण्डोस्कोपी गर्नुपर्ने विमारीका लागि भने महिनाको एकपटक मन्थलीको तामाकोसी सहकारी अस्पतालमा ईन्डोस्कोपी गरिने भएकोले विरामीहरुको सम्पर्क नम्बर लिएर उक्त समयमा अस्पतालमा बोलाईने पनि डाक्टर कर्मचार्यले जानकारी दिनुभयो ।

सिविरमा दन्त चिकित्सक सेवा लिन आएका प्राय सबैमा दात सम्बन्धि र मुख गन्हाउने समस्या रहेको डेन्टल हाईजेनिष्ट एवम् झरना डेन्टल कियर प्रालिका निर्देशक घनश्याम श्रेष्ठले बताउनुभयो । दन्त चिकित्सक फाँटमा आएका सबै विरामीमा दात तथा मुख सम्बन्धि समस्या रहेको उहाँको भनाई छ । नेपाल सरकारले खाना खान अगाडी र खाईसके पश्चात कसरी हात धुने भन्ने बारेमा करोडौ लगानी गरेपनि दात र मुखको सुरक्षाका लागि भने केही पनि लगानी नगरेकोले आगामी दिनमा यस क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा पनि उहाँले बताउनुभयो ।

अन्यत्र नसकिए पनि सरोकारवाला निकायले विद्यालय स्तरिय नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ । विहान र बेलुका कम्तीमा दुईपटक ब्रस गर्ने गरेमा दाँत तथा मुख सम्बन्धि समस्या कम हुने पनि उहाँको भनाई छ । दात तथा मुख सम्बन्धि समस्याको सबै उपचार शिविरमा मात्रै सम्भावना नहुने भएकोले शिविरमा उपचार सेवा लिएका नागरिकहरु आफ्नो मेडिकलमा उपचारका लागि आएमा २५ प्रतिशत छुटमा सेवा प्रदान गर्ने पनि झरना डेन्टल कियरका निर्देशक श्रेष्ठको प्रतिबद्धता छ ।

शिविरमा उपचार गर्न आएका सेवाग्राहीहरुका लागि आयोजकका तर्फवाट गुणस्तरिय औषधीको व्यबस्थापन भएकोले डक्टरहरुको सिफारिसका आधारमा उपलब्ध गराईएको औषधीले धेरै सेवाग्राहीलाई फाईदा पुग्ने फार्मेसी सञ्चालक टोम कुमार श्रेष्ठले बताउनुभयो । तर सिफारिस अनुसारको नियमित औषधी प्रयोग गर्नुपर्ने उहाँको जोड छ ।

सिबिरमा तामाकोसी सहकारी अस्पतालका डाक्टर सुमन कर्मचार्यको नेतृत्वमा विपी स्मृती अस्पताल बसुन्धराका डक्टरहरु डक्टर प्रमोद कटेल, डक्टर समाज गौतम, डक्टर सुक्रान्ती शाह, डक्टर सुधिर श्रेष्ठले सेवा प्रदान गर्नुभएको थियो । त्यस्तै झरना डेन्टरल कियर चावहिल, जिल्ला सामुदायीक आँखा केन्द्र मन्थलीका तर्फवाट प्राबिधिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

शिविरको नर्मदेश्वर सेवा समाज काठमाण्डौ, ओखलढुङ्गा विपद् व्यबस्थापन समाज र लायन्स क्लब अफ काठमाण्डौ ओखलढुङ्गाको मुख्य आयोजना तथा झरना डेन्टल केयरको सहआयोजनामा शिविर सम्पन्न भएको हो । कार्यक्रमको समापन सत्रमा शिविरमा सहयोग गर्ने डक्टर तथा विभिन्न संघ संस्थाहरुलाई आयोजकले प्रमाणपत्र प्रदान गर्दै सम्मान समेत गरेको छ ।

शिविरमा २ सय ४१ जनाले दन्त चिकित्सक सेवा, ३ सय १ जनाले आँखाको, गाईनो सम्बन्धी ९६, भिडियो एक्सरे सम्बन्धि १ सय ७ जनाले सेवा लिएको आयोजक नर्मदेश्वर सेवा समाजका कोषाध्यक्ष गोपाल कुमार श्रेष्ठले जानकारी दिनुभयो । नर्मदेश्वरमा स्थाई घर भई निधन भएका विभिन्न व्यक्तिका परिवारहरुलाई आर्थिक सहयोग गर्ने क्रममा शिविरको समापन कार्यक्रममा नै मृतक बसन्तमाया जोगीको परिवारलाई नगद रु ५ हजार र शोकपत्र हस्तानतरण समेत गरेको छ । यसभन्दा अगाडी पनि सेवा समाजले नर्मदेश्वरका १४ जना मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको सेवा समाजका सचिव टिकादास श्रेष्ठले जानकारी दिनुभयो ।