नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कविता बाचन सगै सिद्धिचरण नगरपालिकाको ‘स्मार्ट सिद्धिचरण’ मोबाईल एप्लिकेशन सार्बजनिक

ओखलढुङ्गान्युज, जेठ १०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो स्मार्ट सिद्धिचरण मोवाईल एप्लिकेसन सार्वजनिक गरेको छ । विहिबार ओखलढुङ्गामा एक कार्यक्रमको आयोजना गर्दै संघिय प्रतिनिधि सभाका माननिय सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख मोहन कुमार श्रेष्ठले संयुक्त रुपमा मोबाईल एप्लिकेसनको उद्घाटन गर्नुभएको हो ।

मोवाईल एप्लीकेसनको उद्घाटन गर्दै सांसद सुनुवारले विश्व अहिले डिजिटलमय बन्दै गएको सन्दर्भमा आफ्ना नगरपालिकामा के भै रहेको छ ? कसरी भै रहेको छ ? आफु कसरी सहभागी बन्ने तथा कुनै गुनासा भएमा तत्काल सम्बन्धित निकाय समक्ष राख्न यो मोवाईल एप्लिेकेशनले सहयोग पु¥याउने बताउनुभयो । आगामी दिनहरुमा यो एप्लिकेशनलाई नागरिकको आम्दानी, रोजगारी तथा पर्यटन भित्र्याउन समेत सहज बनाउने तरिकाले विस्तार र प्रयोग गर्नुपर्ने बताउनुभयो । यस्ता एप्लिकेशन सिद्धिचरण नगरपालिकाले मात्रै नभई जिल्लाका सबै गाउँपालिकाले निर्माण गरि प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले यो अन्य वेईबसाईट भन्दा केही फरक रहेको बताउदै पहिलो चरणमा नगरपालिकामा रहेका सम्भव भएसम्मका गतिबिधीलाई समेटेर मोबाईल एप्लिकेशन तयारी गरेको बताउनुभयो । सार्वजनिक गरिएको एप्लिकेशनको प्रयोगले नगरपालिका भित्र वा बाहिर रहेका सेवाग्राहीहरुलाई नगरपालिकासगको दुरी घटाई काममा सरलता र तिब्रता आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

नगरपालिकाको यो स्मार्ट एप्लिकेशनमा सिद्धिचरण नगरपालिकाका सबै प्रकारका सुचना, जनप्रतिनिधी तथा कर्मचारीको विवरण, प्रत्येक वडाको ईतिहास तथा गतिविधिहरु रहेका छन् । त्यस्तै नगरपालिकाको हरेक गतिबिधी, धार्मिक तथा पर्यटकिय स्थलहरु, नगरपालिकाले नगर परिषदवाट विनियोजन गरेको बजेट तथा योजना, विभिन्न विशिष्ट व्यक्तित्वहरुले गर्नुभएको सम्बोधनको पूर्णपाठ हेर्न र पढ्न सकिन्छ । साथै नगरपालिकाको कुनै गतिबिधी माथि प्रश्न, गुनासो तथा सुझाब भएमा सिधै राख्न सकिन्छ ।

यो मोवाईल एप्लिकेशनलाई सबै खालका एन्ड्रोईड मोवाईलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । त्यसका लागि प्रयोग कर्ताहरुले आफ्नो एन्ड्रोईड मोवाईलको प्ले स्टोरमा गएर Siddhicharan Municipality लेखी सर्च गर्दा यो एप्लिकेशन प्राप्त गर्न सकिन्छ । यसलाई डाउनलोड गरी मोबाईलमा ईन्सटल गरेर प्रयोग गर्न सकिने एप्लिकेशनको विकास गर्ने संस्था कोड फर क्रोर टेक्नोलोजी प्रालिका सिईओ प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

विकसित समाजमा नगरपालिकाका नागरिकहरुलाई समेत प्रबिधिमैत्री बनाउदै नगरपालिकालाई सेवाग्राही नागरिकहरु प्रति उत्तरदायी, जवाफदेही बन्न सहजता सृजना गर्न र नागरिकहरुलाई पनि नगरपालिकाले गर्ने हरेक गतिबिधी माथि सुसुचित हुन पाउने अधिकारको प्रत्याभूति गर्ने उद्देश्य एप्लिकेशनको रहेको छ । सोच नेपाल काठमाण्डौं र कोड फर क्रोर टेक्नोलोजी प्रालिको प्राबिधिक सहयोगमा मोबाईल एप्लिकेशनको निर्माण गरि विहिबार नै नगरपालिकालाई हस्तान्तरण गरिएको सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो ।