नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गुणस्तरिय र प्राबिधिक व्यबसायीक शिक्षाका लागि प्रदेश सरकार अग्रसर हुनुपर्दछ ः राष्ट्रपति भण्डारी

विएन श्रेष्ठ, जेठ ९ ओखलढुङ्गा । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले प्राविधिक गुणस्तरीय व्यबसायीक शिक्षा मार्फत स्थानीयलाई रोजगारीको सृजना गर्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ८ औं जन्मोत्सवको अवसरमा विहिबार ओखलढुङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो वताउनुभएको हो ।

राष्ट्रपति भण्डारी युगकवि श्रेष्ठको पूर्णकदको सालिक अनावरण र स्रष्टाहरुको सम्मानका लागि ओखलढुङ्गामा निर्माण गरिएको स्रष्टापार्कको उद्घाटन गर्न विहिवार ओखलढुङ्गा आउनुभएको हो । उद्घाटन पश्चात सगरमाथा जनता माविको खेलमैदानमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन प्रवर्द्धन मार्फत मुलुकको विकासमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन नै समृद्धिको प्रमुख आधार भएको बताउदै राष्ट्रपति भण्डारले अब ओखलढुङ्गालाई साहित्यीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको पुस्ता विगतका उपलब्धिको सम्मान र योगदानको मात्रै केन्द्रित भएर वस्न नहुने बताउनुभयो । युवा पुस्ताले सहिद तथा स्रष्टाहरुको सम्झना र सम्मान मात्रै हैन विकास निर्माणमा पनि शसक्त ढंगले सामेल भएमा मात्रै स्रष्टाहरुको सम्मान र सपना साकार हुने बताउनुभयो । विकास र योजनाका विषयमा आरोप र आक्षेप लगाउने मात्रै नभई काम कार्यान्वयनमा ओखलढुङ्गेली सबै जुटेमा मात्रै युगकविको सम्मान हुने पनि उपप्रधान तथा रक्षामत्री पोख्रेलले बताउनुभयो ।

मुख्यमन्त्री शेरधन राईले युगको माग र आवाज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुंगालाई साहित्यीक भूमिका रुपमा विकास गरिने बताए । भाषा, कला, साहित्य र संस्कृतीको संरक्षण गर्ने अभियान अनुरुप रुम्जाटारलाई स्मार्ट सिटि बनाउने तर्फ प्रदेश सरकार लागि परेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले त्यसका लागि नितिगत पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा विभिन्न पत्रकार तथा साहित्यकारहरुलाई सिद्धिचरण पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सिद्धिचरणका फुटकर कवितामा (स्वच्छन्दतावाद) पिएचडी गरेका साहित्यकार सह प्राध्यापक फडिन्द्र निरौलालाई नगद १० हजार र प्रमाणपत्र सहित सिद्धिचरण पुरस्कार प्रदान गरिएको छ । युगकवि सिद्धिचरण शताब्दी पुरस्कारवाट प्राध्यापक सुवर्ण शाक्य पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशी नगद ५० हजार र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी, युगकवि पत्रकारीता पुरस्कार २०७६ बाट पुर्वमन्त्री समेत रहिसक्नु भएका होमनाथ दाहाल पुरस्कृत हुनुभएको छ ।  पुरस्कारको राशी नगद ४० हजार र प्रमाणपत्र रहेको छ । पुरस्कृत हुनुभएका दाहाल नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । युगकवि सिद्धिचरण पुरस्कार २०७६ वाट भने साहित्यकार ध्रुवचन्द्र गौतम पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशी नगद १ लाख र प्रमाणपत्र रहेको छ । पुरस्कृत सबैलाई सम्माननिय राष्ट्रपति भण्डारीले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।