नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

योजना तर्जुमाका चरणहरुकाबारे अभिमुखीकरण सम्पन्न

ओखलढुङ्गान्युज, बैशाख १०, ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा योजना तर्जुमाका चरणहरुका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पारस्पारिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रम अन्तर्गत चिशंखुगढीको भदौरेमा गठन भएको स्थानीय सभा र सोच नेपाल ओखलढुङ्गाका संयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

चिशंखुगढी गाउँपालिका वडा नं. ६ को भदौरेको वडा कार्यालयमा शोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रमको सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक बोध नारायण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले संघिय संरचना लागू हुनुभन्दा पहिले चाही गाविस सचिवहरुले गाविसको बजेट बाडफाडका लागी हुने योजना तर्जुमामा सहभागी गराउने गरेको तर पछिल्ला दिनहरुमा आफुहरुलाई योजना तर्जुमाको कार्यक्रममा सहभागी नगराउने गरेको गुनासो गरेका थिए ।

विगतका वर्षहरुमा जस्तैगरि वडा अध्यक्ष तथा वडा सचिवहरुले योजना तर्जुमाको कार्यक्रममा बोलाएर सहभागी गराउलान भनेर अपेक्षा गरेको तर गत आर्थिक वर्षको योजना तर्जुमामा सहभागी हुन जादा समेत आफूलाई सहभागी हुन नदिएको चिशंखु ६ का हर्क बहादुर सार्कीले बताउनुभयो । योजना तर्जुमाको कार्यक्रममा सहभागी हुन नपाउदा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविका तथा महिलाहरुको लागि आवश्यक बजेट विनियोजन नगराएको अर्की सहभागी कमला मगरले बताउनुभयो ।

सहभागीहरुले योजना तर्जुमाका लागि बोलाउछन् र जाने भनेर बस्दा बस्दै सहभागी हुन नपाएको, योजना तर्जुमा कहिले देखी सुरुहुन्छ भनेर थाहा नभएको बताएका थिए । शोमबार भएको अन्तरक्रिया पश्चात भने आफूहरु अब सजग भएर आगामी आर्थिक वर्षका लागि हुने योजना तर्जुमा तथा बजेट विनियोजनका कार्यक्रममा सहभागी हुने बताएका छन् । गत आर्थिक वर्षमा पनि टोलटोलमा गएर पहिला योजनाको माग तथा छनौट गरिएको  यसपटक पनि त्यही प्रकृया दोहोर्याईने वडा सचिब लोकनाथ आचार्यले बताउनुभयो ।

केही दिन अगाडी जिल्ला कै मोलुङ गाउँपालिकाको कार्यालय प्राप्चामा पनि योजना तर्जुमा छनौटका प्रकृया र चरणहरुका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । प्राप्चामा भएको अभिमुखीकरणमा पनि सहभागीहरुले योजना तर्जुमाका बारेमा आफुहरुले थाहा नपाएको, जानकारी नदिएको, थाहा पाएर जादा पनि सहभागी हुन नपाएको, आफुहरुको प्रस्ताव अनुसार बजेट विनियोजन नभएको जस्ता गुनासो गरेका थिए । सोच नेपालको आयोजनामा भएको उक्त अभिमुखीकरणको सोच नेपालका बोर्ड सचिव अर्जुन रत्न र कार्यक्रम निर्देशक अप्सरा कार्कीले गर्नुभएको थियो ।