नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एकल महिला र बलात्कारको परिभाषालाई विचार गर्न महिला आयोगलाई जनप्रतिनिधीको सुझाब

ओखलढुङ्गान्युज, बैशाख ८ ओखलढुङ्गा । ओखलढुङ्गाका निर्वाचित जनप्रतिनिधी महिलाहरुले एकल मलिाको परिभाषालाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय महिला आयोग बबरमहल काठमाण्डौको आयोजनामा शनिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधीहरुले यस्तो बताएका हुन् ।

शनिवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा तिन ओटा कार्यपत्र समेत प्रस्तुत भएको थियो । कार्यपत्रमाथि छलफल गर्दै सहभागी महिला जनप्रतिनिधी एवम् स्थानीय न्यायीक समितिका संयोजकहरुले विवाह पश्चात भएका एकल महिला भन्दा विवाह नै नगरी बसेर रहेका एकल महिलाहरुको पिडा धेरै रहेकोले एकल महिलाको परिभाषालाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा न्यायीक समितिका सदस्यहरुको सहभागीता रहेको थियो । त्यस्तै जिल्लाका विभिन्न कार्यालयका प्रमुख, महिला अधिकारकर्मीहरु, पत्रकारहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले जलवायुको परिवर्तन र मानिसको खानपानका कारण बेलैमा विवाह गर्नेहरुको संख्या बढिरहेको तर नेपाल सरकारको कानूनमा २० वर्ष मुनीकालाई विवाह गर्नवाट प्रतिबन्ध गरेकोले यो पनि त्यति समाजसग मेल नखाएकोले यसका बारेमा पनि ध्यान दिन सुझाबको रुपमा राखेका थिए ।

मुलुकी अपाध संहिता ऐन २०७४ ले २० वर्ष भन्दा कम उमेरकाहरुले विवाह गरेर बच्चा नै जन्मेको अवस्थामा छ । त्यस अवस्थामा पनि कोही कसैले उजुर गरेमा कानुन अनुसार प्रहरी कार्बाही गर्न बाध्य हुन्छौ,’ छलफलका क्रममा प्रहरी नायव उपरिक्षक मल्ले भन्नुभयो, ‘पछिल्ला दिनमा महिला हिंसाका घटना सगै बैबाहिक बलात्कारका उजुरी समेत आएको छ । वैबाहिक बलात्कारको केसमा पनि मुलुकी अपराध संहिता २०७४ अनुसार पिडकलाई ५ वर्ष जेल र ५० हजार जरिवानाको व्यबस्था छ । तर उजुर गरेको भोलीपल्ट नै मेरो ब्यक्तिगत मामला हो केश फिर्ता गर्छु भनेर आउनुहुन्छ । पिडित पक्ष महिला नै हुन् । उहाँहरुको जनचेतना अभिबृद्धि गराउनुपर्छ । यसकालागि पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ देशमा घटेको एउटा केशका कारण नेपाल प्रहरी जहाँ जादापनि गाली खाएर शिर निहुर्याएर हिड्नुपरेको भन्दै ओखलढुङ्गाका हरेक उजुरीका सन्दर्भमा ढिलैभएपनि गहिरिएर अनुसन्धान गरि कार्बाही गरिछाड्ने दृढता पनि व्यक्त गर्नुभयो ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेद वहादुर रोकाले खाली महिला हिंसा पुरुषले नै गर्छ भनेर पटक पटक धेरै कार्यक्रममा सुन्दा सुन्दा दिक्क भैसकेकोले त्यसतर्फ सबै पुरुषहरु सजग रहनुपर्नेमा जोड दिनुभयो । अबका दिनमा महिला हिंसा भन्दा पनि लैङ्गिक हिंसाका कुराहरुमा जनचेतना फैलाउने र त्यस्ता मुद्दाहरुलाई कसरी कमगर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले प्रहरीले खाली कानूनमा टेकी कार्बाही गर्ने भन्दा पनि सामाजिक मुल्य मान्यतामा पनि आच नआउने गरि कसरी मुद्दाको टुङ्गो लगाउन सकिन्छ भन्ने तर्फ सोच्नुपर्ने बताउनुभयो । क्षणिकको आवेशमा प्रहरी सम्म केस आउने र त्यही अनुसार मुद्दा टुङ्गोलगाउदा उनीहरुको व्यबहारिक पक्ष भताभुङ्ग समेत हुने भएकोले यसतर्फपनि ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले महिला हिंसाका घटनाहरु प्राय आर्थिक सग जाडिने हुदा महिलाहरुलाई कसरी आर्थिक रुपमा सबल बनाउन सकिन्छ भन्ने तर्फ सबै स्थानीय तहले सोच्नुपर्ने बताउनुभयो । स्थानीय तहमा प्राय महिला कर्मचारी पनि नभएको र आर्थिकका सन्दर्भमा गाउँघरमा अझैपनि पुरुषको बर्चश्व रहेका कारण महिला हिंसा बढ्ने गरेकोले जिल्लामा महिलाका पक्षमा कृयाशिल विभिन्न सामाजिक संघसंस्थाहरुले पनि त्यस विषयलाई मध्य नजर गरि कार्यक्रम कार्यान्वयन गरे र आर्थिक रुपमा महिला सबल बनेमा स्वभाविक रुपमा महिला हिंसाका घटनामा कमी आउने बताउनुभयो ।

त्यस्तै ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला प्रशासन कार्यालय भनेको स्थानीय तहका जनप्रतिनिधीहरुले गरेको सकारात्मक कामका लागि होष्टेमा हैसे गर्ने मात्र रहेकोले त्यसका लागि सदैव तयार रहेको बताउनुभयो । मानिसहरुले अधिकार मात्र खोज्ने नभई कर्तव्य पनि नभुल्ने हो भो समस्या नहुने भन्दै सबैले सकारात्मक सोची सकारात्मक तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।

छलफलका क्रममा उठेका जिज्ञासालाई समेत समेट्दै प्रमुख अतिथि राष्ट्रिय महिला अधिकार आयोगका सचिव दिपेन्द्र काफ्लेले महिलाका पक्षमा रहेका कानून कार्यान्वयन र आवश्यक कानून निर्माणका लागि महिला आयोग शशक्त रुपमा अघि बढेको बताउनुभयो । गाउँमा भएका घटनालाई मन नै मिल्ने गरि गाउँमा समस्या समाधानको सुरुवात गरेमा हिंसाका घटनामा कमी आउने पनि सचिव काफ्लेले बताउनुभयो । कानूनमा पनि केही विषय जटिल नै भएको बताउदै आवश्यक परिमार्जनका लागि र समग्रमा यस अन्तरक्रिया कार्यक्रमवाट प्राप्त भएका सबै सुझाबहरुलाई आफुले मन्त्रिपरिषदमा प्रतिवेदनमा समेटी बुझाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

महिला विरुद्ध हुने हिंसा, सामाजिक कुरीति, दाईजो लगायतका यौनजन्य दुव्र्यबहार सम्बन्धि एकदिने अन्तरक्रिया शनिवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रम जिल्ला समन्वय समितिका सभापति जय बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।