नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा एमाले र माओवादी बीचको एकता चम्पादेवीवाट सुरु

ओखलढुङ्गान्युज, चैत १३ चम्पादेवी । ओखलढुङ्गामा नेकपा एमाले र नेकपा माओवादी बिचको पार्टी एकता स्थानीय तहवाट नै सुरु भएको छ । पार्टी केन्द्रमा एकता भएको सन्देश दिने गरि करीब दश महिना अघिदेखी एकताको प्रकृया सुरु गरेको भएपनि हालसम्म पुर्ण रुपमा एकता हुन सकेको छैन । त्यसका बाबजुद ओखलढुङ्गाको स्थानीय तहहरुमा भने एकता प्रकृया सुरु भएको छ ।

एकता प्रकृयाका लागि जिल्लाका विभिन्न गाउँपालिकाका वडा स्तरहरुमा भने एकता प्रकृया सुरु भै सकेको छ । तर गाउँपालिकावाटै सुरु भएको भने चम्पादेवी गाउँपालिका पहिलो हो । आज भएको एकता कार्यक्रमवाट खड्ग बहादुर कार्कीको अध्यक्षतामा ७५ सदस्यीय पालिका स्तरिय कमिटि निर्माण गरिएको छ । कमिटिको उपाध्यक्षमा गणेश बहादुर कार्की रहनुभएको छ ।

तत्कालीन नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु शंकर बहादुर कार्की र तिर्थ सुवेदी तथा तत्कालीन नेकपा माओवादीका जिल्ला सदस्य शुरेश कुमार थापाको उपस्थितीमा पछि १० जना मनोनित गर्ने गरि ७५ सदस्यीय पालिका स्तरिय कमिटिको निर्माण गरेको हो । चम्पादेवी गाउँपालिकावाट पालिका स्तरिय नै दुई पार्टी बीच एकता भएपश्चात जिल्लाका बाकी रहेका स्थानीय तहहरुमा समेत एकता प्रकृया छिटो सकाउनका लागि दबाब सृजना हुनेछ ।

संघिय प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावमा दुई नेपाल कम्युनिष्ट पार्टीका बीचमा एकता गर्नुपर्ने भन्ने म्याण्डेड दिएर नागरिकहरुले विजयी गराएकोले त्यसको सुरुवात चम्पादेवीवाट सुरुवात गरेको नेकपा चम्पादेवीका शुरेश थापाले बताउनुभयो । केही दिन अगाडी मात्रै स्थानीय तहहरुको पार्टी एकताको कामलाई टुङ्गोमा पुर्याउनका लागि जिल्ला कार्यदलको बैठक सम्पन्न भएको थियो ।