नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रदेश स्तरीय भलिवलको फाईनलमा झापा र भोजपुर भिड्ने

ओखलढुङ्गान्युज, फागुन १६ ओखलढुङ्गा । ओखलढुङ्गामा जारी प्रदेश स्तरिय भलिवल प्रतियोगिताका सेमीफाईनल खेलहरु आज सम्पन्न भएका छन् । ओखलढुङ्गा जिल्लाको सदरमुकाममा अबस्थित सिद्धिचरण नगरपालिका १२ को सगरमाथा जनता माद्यमिक विद्यालयको प्राङ्गणमा भै रहेको खेलमा चौथो दिनको खेल सकिदा सेमी फाईनलका खेलहरु सम्पन्न भएका हुन् ।

सेमीफाईनलको खेल सम्पन्न हुदै गर्दा फागुन १७ गते अर्थात शुक्रबार हुने फाईनल खेलमा तेश्रो स्थानका लागि सुनसरी जिल्ला र संखुवासभा जिल्लाका भलिवल टिम भिड्नेछन् । त्यस्तै खेलको प्रथम स्थानका लागि भने झापा जिल्ला र भोजपुर जिल्लाका भलिवल टिम भिड्नेछन् ।

विहिवार भएको सेमीफाईनलको पहिलो खेलमा कडा प्रतिष्पर्धाका विचमा ३–२ सेटले सुनसरीलाई हराउदै भोजपुर विजयी भएको छ । सेमीफाईनलको पहिलो खेलमा ११–२५, २५–१६, २२–२५, २५–१७ र १३–१५ को प्रतिष्पर्धात्मक खेलमा सुनसरीलाई हराउदै भोजपुर फाईनलमा प्रवेश गरेको हो ।

त्यस्तै सेमिफाईनलको दोश्रो खेलमा भने झापाले संखुवासभालाई सोझो तीनओटै सेटमा हराउदै फाईनलमा प्रवेश गरेको हो । सेमीफाईनलको दोश्रो खेलमा झापाले संखुवासभालाई २५–१४, २५–१७ र २५–२२ को सेटमा हराउदै फाइनलको यात्रा तय गर्यो । शुक्रबार हुने फाईनल खेलमा तेश्रो स्थानका लागि हुने खेल विहान साढे आठ बजे र प्रथम तथा दोश्रो स्थानका लागि भने दिउसो साढे १२ बजे हुने आयोजकले जनाएको छ ।

प्रदेश स्तरीय यस भलिवल प्रतियोगितावाट १२ जना खेलाडी छनौट भई चाडै नै हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रदेश स्तरीय भलिवल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रदेश स्तरिय खेलकुद विकास समितिको संयोजन तथा जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको व्यबस्थापनमा सञ्चालन भएको हो ।

गत फागुन १३ गते देखी सुरु भएको १ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा १ नम्बर प्रदेशका १४ ओटै जिल्लाहरुले सहभागिता जनाएका थिए । ओखलढुङ्गा जिल्लाको भलिबल टिम भने बुधवार भएको क्वाटार फाईनलको खेलमा झापा सग नै पराजित भएको थियो । खेलका विजयी टीमले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।