नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सिडियोले दिए अपाङ्गलाई घरमा नै पुगेर नागरिकता

विवेश श्रेष्ठ, माघ १३ ओखलढुङ्गा । लिखु गाउँपालिकाको आयोजनामा दुईदिने नागरिकता बनाउने घुम्ती सिविर सम्पन्न भएको छ । लिखु गाउँपालिकाको कार्यालय यसममा दुईदिने घुम्ती सिबिर सम्पन्न भएको हो । घुम्ती सिबिर दुईदिनका लागि मात्रै आयोजना गरिएको भएपनि नागरिकहरुको चापका कारण तिन दिन सम्म चलेको थियो ।

सिबिरमा लिखु गाउँपालिकाका ३ सय ८४ जनाले प्रत्यक्ष सुबिधा लिएका छन् । घुम्ती सिबिरमा ३ सय ८४ जनाले नागरिकता लिनुका साथै मतदाता नामावलीमा समेत आफ्नो नाम दर्ता गराएका छन् । ओखलढुङ्गा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद पौड्यालको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता वितरण गरेको हो ।

प्रदेश नं. १ अन्तर्गत ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. ख का माननिय सांसद मोहन कुमार खड्का हिमशिखरले नागरिकता बनाउन आएका पालिकाका जेष्ठ नागरिकलाई नागरिकता हस्तान्तरण गर्दै शिविरको उद््घाटन गर्नुभएको थियो । गाउँपालिकाका नागरिकता बनाउन उमेर पुगेका १६ वर्ष उमेरका देखी ६५ वर्ष सम्मका नागरिकहरुले नागरिकता लिएका छन् ।

अपाङ्गलाई घरमा नै पुगेर नागरिकता

शिविरको तेश्रो दिन सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले एकजना अपाङ्ग भएका व्यक्तिलाई घरमा नै पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको छ । लिखु गाउँपालिका वडा नं. ३ का क श्रेणीको  अपाङ्ग परिचयपत्र समेत भएका चन्द्र बहादुर जोगीका २३ वर्षिय छोरा दिपक कुमार जोगीलाई घरमा नै पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको हो ।

२०५२ सालमा जन्मिएका जोगीको कम्मर भन्दा मुनिको भाग चल्दैन । सामान्य खानपिन गर्नका लागि आफै सक्ने भएपनि भित्रबाहिर गर्न र शौच गराउन उनलाई एकजना सहयोगीले साथ दिनुपरेको छ । हिडडुल गर्नपनि नसक्ने र सदरमुकाम पनि टाढा भएका कारण जन्मिएको २३ वर्ष भैसक्दा पनि नागरिकता पाउनबाट उनी बञ्चित भएका थिए । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी घरमा नै आएर आफुलाई नागरिकता दिएपछि आफुले घरमा नै भगवान पाएको अनुभव गरेको दिपकले बताए ।

राजधानीको सिंहदरवार गाउँमा भनेर रेडियोवाट चाही धेरै पटक सुनेकोमा आफुले घरमा नै नागरिकता पाएपछि साच्चै सिंहदरवार गाउँमा नै आएको जस्तो लागेको पनि जोगीले वताए । नागरिकता पनि घरमा नै पाएको अनि सहायक प्रमुख जिल्ला अधिकारीले समेत आफ्नो अबस्था देखेकोले कहि कतैवाट आर्थिक सहयोग पाएमा आफ्नो उपचार गरी अरुले जस्तै हिडडुल गर्ने र देशका लागि समेत आफुले केही गर्ने आशा रहेको पनि उनले बताए ।