नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

युएई विरुद्धको पहिलो एकदिवसीय कृकेटमा नेपाल ३ विकेटले पराजित

ओखलढुङ्गान्युज, माघ ११ काठमाण्डौं । शुक्रवार युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । शुक्रबार दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । युएईले लक्ष्य पुरा गरेसगै नेपाल तिन विकेटले पराजित भएको हो । 

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको यूएईले पनि राम्रो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा अस्फाक अहमदलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए ।

चिराग सुरीलाई सोमपाल कामीले आउट गर्दा यूएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा शाइमान अनवरलाई गुमाएको यूएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो विकेटको रुपमा मुहम्मद उस्मान आउट हुँदा पारस खड्काले पहिलो विकेट लिएका थिए । त्यसपछि लगातार अर्को छेउबाट लेग स्पिनर सन्दिप लामिछानेले बलिङ गर्न लगाएका थिए ।

पाचौं विकेटको रुपमा फहद नवाजलाई सन्दिपले आउट गरेका थिए । छैटौ सफलता पनि सन्दिपलेनै दिलाए । उनले यूएईबाट सर्वाधिक ३० रन बनाएका गुलाम शब्बरलाई आउट गरेका थिए । सातौं विकेटको रुपमा पारसले मोहमद बूतालाई बसन्त रेग्मीबाट क्याच गराएर पेभेलियन फर्काएका थिए ।

७ विकेट गुमाउँदै ७३ रन बनाएको यूएईका लागि अमिर हयात र इमरान हैदरले पारी सम्हालेपछि यूएई ३ विकेटले विजयी हुन सफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रन बनाउँदै अल आउट हुन पुग्यो । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दीप लामिछानेले १५ रन बनाए ।