नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नेविसंघको जिल्ला सभापतिमा महतारा निर्वाचित

विवेश श्रेष्ठ, माघ ९, ओखलढुङ्गा । नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको विवाद र झडपका विचपनि १२ औं जिल्ला अधिबेशन सकिएको छ । जिल्ला अधिबेशनले रोशन महताराको अध्यक्षतामा २४ सदस्यिय जिल्ला कार्य समितिको निर्वाचित समेत गरेको छ । नेविसंघको नयाँ जिल्ला कार्यसमितिका लागि धेरैजनाले उमेदवारी दर्ता गराएको भएपछि मातृपार्टीको विशेष पहल र लामो समयको छलफल पश्चात जिल्ला नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेविसंघ ओखलढुङ्गाले जनाएको छ ।

माघ ७ गते देखी सुरु भएको १२औं जिल्ला अधिबेशनले नयाँ जिल्ला कार्य समितिको चयन गर्दै बुधवार सकिएको हो । बुधवार सम्पन्न जिल्ला अधिबेशनवाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भिष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुईटेल निर्वाचित भएका छन् ।

शोमबार विहान ११ वजेवाट नै सुरुहुने भनिएको जिल्ला अधिबेशनमा उद्घाटनसत्रमा क–कसलाई आसन ग्रहण गराउने भन्ने विषयमा विवाद हुदा नाराबाजी सहित नेताहरु बिच कुटाकुट समेत भएको थियो । अधिबेशनमा विवाद भएका कारण जिल्ला अधिबेशन सञ्चालनका लागि आएका केन्द्रिय प्रतिनिधी पवन नेपालीले अर्को निर्णय नभएसम्मका लागि ओखलढुङ्गाको जिल्ला अधिवेशन स्थगित गरेको विज्ञप्ती जारी गरेका थिए ।

नेपालीले विज्ञप्ती जारी गरेर हिडेपनी नेपाली कांग्रेस जिल्ला समितिको विशेष पहलमा तत्काल नै नेविसंघका केन्द्रिय सदस्य भिम गौतमलाई केन्द्रिय प्रतिनिधी बनाई जिल्ला अधिबेशन सुरु गरिएको थियो । नेविसंघका केन्द्रिय सदस्य एवम् जिल्ला अधिबेशन प्रतिनिधी गौतमको उपस्थितीमा नै नेविसंघ ओखलढुङ्गाले १२औं जिल्ला अधिबेशन सम्पन्न गरेको हो ।

यसैबिच नेविसंघको जिल्ला अधिबेशनमा असन्तुष्ट भएका कोईराला पक्षधरले शोमबार बेलुका नै पत्रकार सम्मेलन गरि नेविसंघको जिल्ला अधिबेशन अबैधानिक भएको बताएको छ । पत्रकार सम्मेलनमा भातृ संगठनको जिल्ला अधिबेशनमा पार्टीले हस्तक्षेप गरेको, बिधान संमत ढंगले अधिबेशन नगरेकोले यो जिल्ला अधिबेशन अबैधानिक भएको भन्दै बहिष्कार गरेको समेत जनाएको छ ।

उता फेरी नेपाली कांग्रेस ओखलढुङ्गाले मंगलवार पत्रकार सम्मेलन गरि विज्ञप्ती जारी गरेको छ । नेविसंघको जिल्ला अधिबेशन उद्घाटनको क्रममा पार्टीको एउटा जिम्मेवार नेतृत्वको टोलीले नै गलत मनसायका साथ अमर्यादित कृयाकलाप गरको घटना प्रति जिल्ला पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सौहार्दपूर्ण रुपमा उद्घाटनसत्र सञ्चालन भैरहेको अवस्थामा केही नेताहरुले गुण्डागर्दी शैलीमा कार्यक्रम विथोल्ने उदेश्यले महामानव विपी कोईरालाको तस्वीर फाल्ने, टेवल कुर्ची तोडफोड गर्ने, विद्यार्थी नेताहरुमाथि भौतिक आक्रमण गर्नेतर्फ उद्दत भए । तर त्यसलाई आयोजकहरुले अनियन्त्रीत समूहलाई रोकी अप्रिय घटना हुनवाट बचाएर नेविसंघको जिल्ला अधिबेशनलाई सुचारु गरिएको छ । गलत प्रचार प्रसार गरि आपराधिक घटना घटाउन उद्दत व्यक्तिहरुलाई विधान सम्मत कडा भन्दा कडा कार्बाहीका लागि आवश्यक प्रकृया अघि बढाईएको जिल्ला सभापती प्रदिप कुमार सुनुवारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी जिल्ला सभापती प्रदिप कुमार सुनुवार, उपसभापती तेजेन्द्र खनाल र नेविसंघका जिल्ला सभापती प्रदिप कुमार बानिया लगायतमा गरिएको हातपात र दुव्र्यवहार प्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले घोर भत्र्सना गर्दछ, जारी विज्ञप्तीमा भनिएको छ ।