नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नेविसंघको जिल्ला अधिबेशनमा कुटाकुट, कांग्रेस नेता बालकृष्ण दाहाल अस्पताल भर्ना

विवेश श्रेष्ठ, माघ ७, ओखलढुङ्गा । नेविसंघ ओखलढुङ्गाको जिल्ला अधिबेशनमा कुटाकुट भएको छ । अधिबेशनको उद्घाटन सत्रमा कुटाकुट हुदा नेपाली कांग्रेसका जिल्ला नेता बालकृष्ण दाहाल घाईते भएका छन् । उनलाई अहिले सामुदायीक अस्पताल सोब्रुमा भर्ना गरिएको छ । पार्टीको भातृ संगठन नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर नेताहरु बिच कुटाकुट भएको हो ।

सोमबार विहान ११ बजे नेविसंघको १२ औं जिल्ला अधिवेशन उद्घाटन गरिने कार्यक्रमको तय भएको भएपनि दिउसो अबेर सम्म कार्यक्रम सञ्चालन हुन सकेको थिएन । अबेर गरि सुरु भएको उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता बिचमा कुटाकुट भएको हो ।

अधिवेशनमा सहभागि हुन पार्टीका जिल्ला स्थित सबै नेता, कार्यकर्ता र नेविसंघका विद्यार्थी नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए । शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेताहरुलाई आसन ग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षले सबैलाई समेटेर जान भनिरहेको थियो । विवादकै बिचमा नेविसंघका जिल्ला अध्यक्ष प्रदिप बानीयाँले औपचारिक कार्यक्रम सुरु गर्न निर्देशन दिए । जिल्ला समन्वय समितिको सभाहलमा अधिवेशनको औपचारिक कार्यक्रम सुरु भएलगतै कार्यक्रम सुरु भएको विरोधमा अधिबेशनमा सहमती नभए सम्म रोक्न माग गर्दै हल बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाएका थिए ।

केन्द्रिय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षको दावी थियो । जिल्ला सभापति प्रदिप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारीस गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिईएको थिएन । अधिबेशन सञ्चालन गर्न आएका नेविसंघका केन्द्रिय प्रतिनिधिलाई समेत बाहिर राखेर अधिबेशन सुरु भएपछि विवादले उग्ररुप लिएको थियो । विवाद चुलिदै जादा नेताहरुका बिचमा कुटाकुट भएको हो ।

पौडेल पक्षको विरोधका बाबजुद पनि अधिबेशन सुरुभएपछि विरोधमा उत्रिएका नेता तथा कार्यकर्ताहरु नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रम स्थल पुगेर पौडेल पक्षका नेताहरुले जवरजस्त कार्यक्रम रोक्न माग गरेपछि झडपको स्थिती सिर्जना भएको हो । कार्यक्रम स्थलमा झडप भएपश्चात ओखलढुङ्गा कांग्रेसका पुराना नेता बालकृष्ण दाहाल सहित पौडेल पक्षका दर्जनौ नेता तथा कार्यकर्ता कुटिएका छन् । झडपका क्रममा कांग्रेस नेता दाहालको चस्मा फुटेको छ ।

त्यस्तै नेतृ गोमा केशीले आफुलाई जिल्ला सभापति प्रदिप सुनुवारले कुटेको भन्दै प्रहरी गुहारिन् । कार्यक्रम स्थलमा पुगेर टेवल उचाल्ने प्रयास गरेकि नेतृ केशीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यस विचमा दुवै पक्षका नेता, कार्यकर्ता बिच होहल्ला र हातहालाहाल भएको थियो । कार्यक्रममा कुटिएका नेता बालकृष्ण दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको कांग्रेस नेता लिलाबल्लभ दाहालले बताए ।

नेविसंघको जिल्ला अधिबेशनमा झडप भएपछि जिल्ला अधिबेशन सम्पन्न गराउन जिल्ला आईपुगेका नेविसंघका केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधी पवन नेपालीले एक विज्ञप्ती जारी गरि अधिबेशन स्थगित भएको जानकारी गराएका छन् । माघ ७ गते देखी हुने जिल्ला अधिबेशनका सन्दर्भमा पटक पटक बैठक राखि नेविसंघका जिल्ला अधिबेशनमा आउने प्रतिनिधीहरुको नामावलीलाई माग गर्दा नेविसंघ जिल्ला अध्यक्ष प्रदिप बानियाले उपलब्ध नगराएको विज्ञप्तीमा उल्लेख छ ।

अधिबेशनका लागि आउने जिल्ला प्रतिनिधीहरुको बारेमा टुङ्गो लगाई जानकारी गराउन आग्रह गर्दा अध्यक्ष बानीयाले लुकाई पार्टीका जिल्ला अध्यक्ष प्रदिप सुनुवारको ठाडो हस्तक्षेपमा नेविसंघको जिल्ला अधिबेशनको उद्घाटन सत्र सुरुवात गरेकोले अर्को निर्णय नहुदा सम्म माघ ७ र ८ गतेको लागि तय भएको अधिबेशन स्थगित गरिएको नेपालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।