चम्पादेवी गाउँपालिकाको विवादको छलफल निष्कर्ष विहीन
विवेश श्रेष्ठ, पुष २१ ओखलढुङ्गा । गाउँ पालिकामा सृजना भएको विवाद मिलाउन भन्दै चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिहरु सदरमुकाम आएका छन् । गाउँपालीका स्तरमा भएको बार्तामा समझदारी नभएकै कारण जनप्रतिनिधिहरु बिबाद सुल्झाउनका लागी सदरमुकाम आएका हुन । शुक्रबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा भएको छलफलमा कुनै सहमती हुन सकेन । विवाद नसुल्झीए सगै विवादले उत्कर्ष रुप लिने संकेत देखिएको छ ।
गाउँपालिकामा भएका अनियमितताका बिरुद्ध पुष १६ गते आन्दोलनरत पक्षले गाउँपालीकामा लगाएको तालाबन्दि खोलीए पनि बिवाद मिलाउने प्रयास भैरहेको छ । स्थानीय तहमा भएको वार्तामा नेकपाले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेको थिएन । गाउँपालीकामा सहमति नभए पछि आन्दोलनरत पक्ष नेकपा चम्पादेवी र नेकपा समर्थित चम्पादेवी गाउँपालिकाका वडा अध्यक्षहरुले यस बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।
गाउँपालिकाले केही महिना अगाडि नियम विपरित २० जना शिक्षक, एकजना अनमी, एकजना वडासचिव, ५ जना प्राविधिक कर्मचारी सहित २७ जना नियुक्त गरेको कारण स्थानीय तहमा बिवाद चुलीएको नेकपा चम्पादेवी गाउँपालीकाका अध्यक्ष खड्गबहादुर कार्कीले बताउनुभयो । कर्मचारी नियुक्त प्रक्रियालाई कानुन विपरीत भन्दै नेकपा चम्पादेवी र चम्पादेवी गाउँपालिकाका नेकपा समर्थित जनप्रतिनिधिले विरोध सुुरु गरेका हुन् । कर्मचारी भर्ना प्रक्रियामा गाउँपालिका अध्यक्षले आफूखुसी गरेको कार्यपालिका सदस्यहरुले नै आरोप लगाएका छन् । चम्पादेवी गाउँपालिकाका १० वडामध्ये नेकपाका चारजना वडा अध्यक्ष सहित नेकपाका कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका हुन् । विवाद अहिले जिल्ला प्रशासन हुँदै अदालतसम्म आइपुगेको छ ।
नेकपाको विरोधका कारण गाउँपालिकाको काम कारवाही प्रभावित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनियमितताका विरुद्ध नेकपा गाउँपालिका कमिटीले केही समयअघि गाउँपालिका अध्यक्ष नवराज केसीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । ध्यानाकर्षण पत्रको समेत सुनुवाई नभएपछि पुस १६ गते गाउँपालिकामा तालाबन्दी गर्नु परेको नेकपा चम्पादेवी गाउँपालीका अध्यक्ष कार्कीको भनाई छ ।
गाउँपालिकामा भएको अनियमितता र नियम विपरित कर्मचारी नियुक्ति गरेको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा उजुरी गरेका थिए । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर आर्थिक अनियमितता गरेको, नियम विपरित कर्मचारी भर्ना गरेकाले निवेदन दिनुपरेको चम्पादेवी गाउँपालिका ७ का वडाअध्यक्ष सुरेश थापाले बताए । उनले गाउँपालिकाले गरेको अनियमितताका विरुद्ध प्रशासनमा उजुरी दिएकाले अब अदालतमा समेत जाने बताए ।
चम्पादेवी गाउँपालिकाले भने पुष १७ गते पालिकामा नै पत्रकार सम्मेलन गरि नेकपा चम्पादेवीले लगाएको आरो झुटो भएको बताएको छ । गाउँपालिकाले करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन बनाएर कर्मचारी तथा शिक्षक भर्ना गरिएकाले विरोधको अर्थ नभएको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो । पत्रकार सम्मेलन गरी अध्यक्ष केसीले आफु कानुन भन्दा माथी नगई कर्मचारी भर्ना गरेको बताउँदै यो बिरोधको अर्थ नभएको पनि बताउनुभयो । कुनै कमजोरी भएको भए छलफल मार्फत समाधान गर्न आफु सदैव तयार रहेको भन्दै आन्दोलनरत पक्षलाई बार्ता तथा छलफलमा बसी समझदारीमा आउन पनि पत्रकार सम्मेलन मार्फत आव्हन गर्नुभएको थियो ।
गाउँपालीकाको बिवादका विषयमा जिल्ला प्रसाशन कार्यालय ओखलढुङ्गामा छलफल शुक्रबार विना निष्कर्ष टुङ्गिएपनि जिल्ला प्रशासनको समन्वयमा नै फेरी अर्कोदिन छलफल हुने श्रोतले बताएको छ ।