नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

नेकपा चम्पादेवीको आन्दोलन बिरुद्ध गाउँपालिकाको पत्रकार सम्मेलन

ओखलढुङ्गान्युज, पुष १९ चम्पादेवी । चम्पादेवी गाउँपालिकामा गत पुष १६ गते भएको भनिएको सामाजिक सञ्जाल मार्फत गरिएको तालाबन्दीको समाचार गलत भएको बताएको छ । चम्पादेवी गाउँपालिका कार्यालय कालिकाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । गाउँपालिका कार्यालयमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँ कार्यपालिकाका प्रवक्ता अजय लुईटेलले उक्त जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा गाउँ कार्यपालिकाले ध्यानाकर्षणपत्र बुझेर आपसी गोलमेच छलफलवाट नै मुद्दा टुङ्गोमा पु¥याउने भन्दै वार्ताको लागि आव्हान गरेको तर गोलमेच छलफल तथा वार्ताका लागि गाउँपालिकावाट अनुरोध गरिएको पत्रलाई नेकपा चम्पादेवीले बुझ्न नमानेको प्रवक्ता अजय लुईटेलले जानकारी दिनुभयो । नेपालको संबिधान २०७२ ले दिएको अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावनालाई अनुसरण गर्दै त्यसैको परिधिभित्रै रहेर गाउँपालिकाले प्रकृया पु¥याएर नै आवश्यक कर्मचारीको नियुक्ति गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पालिका अध्यक्ष नवराज केसीले पत्रकार सम्मेलनमा भन्नुभयो, “१४ गते कार्यपालिकाको वैठकमा आएर ध्यानाकर्षणपत्र बुझाउनुभयो । हामीले स्वीकार गरेर कार्यपालिकाको बैठक स्थगीत गर्दै उहाँहरुलाई छलफलका लागि बोलायौं । पत्र पनि काट्यौ । तर पत्र बुझ्न मान्नुभएन । एकाएक १६ गते छापामार शैलीमा आएर पालिकामा तालाबन्दीको प्रयास गर्नुभयो । कार्यालयका कर्मचारी माथि अभद्र ब्यबहार गर्नुभयो । तर मैले कुरा राखेपछि उहाँहरुसगै आएका अरु सहभागीहरुले पालिकामा तालाबन्दि गर्न दिएनन् ।”

“अझै केही विग्रिएको छैन । पालिकाको तर्फवाट केही कमजोरी नै भएका रहेछन् भने सच्याउन पनि तयार छु । तर कमजोरी यहाँनेर र यस्तो छ भनेर प्रष्ट त पार्नुप¥यो नि । आन्दोलन र तालाबन्दी चाही गर्ने रे । छलफलमा बसौ भनेर पत्र पठाउदा पत्र बुझ्नुहुन्न । यसरी त समस्याको समाधान हुदैन,” अध्यक्ष केसीले भन्नुभयो, “चुनावमा कुनै दलको प्रतिनिधीत्व गरेपनि अहिले चम्पादेवी गाउँपालिकाका नागरिकका साझा हुँ । एक्लै र पेलेर नै सबै काम गर्छु भन्ने दम्भ गर्दिन । कार्यपालिकामा सत्तापक्ष र प्रतिपक्षको रुपमा काम भएको पनि छैन । सहमती र सहकार्यमा सबैसग हातेमालो गरेर नै अघि बढ्न म सधै तयार छु ।”

केही महिना अगाडी गाउँपालिकाले गाउँपालिकामा आवश्यकता परेको शिक्षक, स्वास्थ्यकर्मी, प्राविधिक लगायत कर्मचारीलाई नियुक्ति गरेको थियो । पछिल्ला दिनमा गाउँकार्यपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत तथा पालिकाले ऐन तथा कानून नै निर्माण नगरि काम गरेको आरोप नेकपा चम्पादेवीको छ । कर्मचारी नियुक्ति तथा कर्मचारी सरुवा गरेको, विकास निर्माणका काममा अनियमितता गरेको भन्दै भन्दै त्यसलाई तिनदिनभित्र सच्याउन माग गर्दै पुष १४ गते नेकपा चम्पादेवीले पालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । तिनदिन भित्र निर्णय नसच्याए गाउँ कार्यपालिकामा तालाबन्दी गर्ने चेतावनी समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको थियो ।

चम्पादेवी गाउँपालिकामा गाउँपालिकाले पत्रकार सम्मेलन गर्दैगर्दा आन्दोलनरत पक्ष नेकपा चम्पादेवीले भने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा अनियमितता गर्नेमाथि आवश्यक छानविन पश्चात कार्बाहीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । चम्पादेवी गाउँपालिकाको विकास निर्माणको क्रममा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत र गाउँपालिकाका प्रमुख तथा लेखाको सहभागीतामा अनियमितता गरिएको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा समेत उजुरी गरेको छ ।