अन्तर वडा स्तरिय भलिवलको उपाधी चम्पादेवीलाई
विवेश श्रेष्ठ, पुष १४ ओखलढुङ्गा । गत शोमवारदेखी सञ्चालन भैरहेको अन्तर वडा स्तरीय खुला भलिवल प्रतियोगीताको उपाधी चम्पादेवी गाउँपालिकाले आफ्नो पोल्टामा पारेको छ । चम्पादेवी गाउँपालिका वडा नं. १ को भलिवल टिमले उक्त उपाधीलाई आफ्नो पोल्टामा पारेको हो । चम्पादेवी गाउँपालिका वडा नं. १ पलापुले चिशंखुगढी गाउँपालिकाको टिमलाई सोझो सेटमा हराउदै उपाधी चुमेको हो ।
पलापुले आफ्नो चीरप्रतिद्वन्द्वी चिशंखुगढी १ कुईभिरलाई हराएको हो । प्रतियोगिताको फाईनल खेलमा कुईभिरलाई १४–२५, १५–२५ र १७–२५ को सोझो सेटमा हराएको हो । विजेता बनेसँगै चम्पादेवी १ पलापुले नगद ७७ हजार ७ सय ७७ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । टिमको उपविजेता बन्दै चिशंखुगढी १ कुईभिरले ४४ हजार ४ सय ४४ रुपैया नगद, शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै गरि खेलको तेश्रो स्थानको लागि भएको प्रतियोगितामा मोलुङ गाउँपालिका ५ श्रीचौरले सिद्धिचरण नगरपालिका ८ सल्लेरीलाई कडा प्रतिष्पर्धामा हराउदै नगद २२ हजार २ सय २२, मेडल र प्रमाणपत्र हात पारेको छ । वेष्टअप फाईभ अन्तरगत खेलाईएको खेलमा श्रीचौरले सल्लेरीलाई ३–१ सेट अन्तरले पराजित गरेको हो ।
त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिका भित्रका मात्रै महिला खेलाडीहरुलाई सहभागी गराई सञ्चालन गरिएको प्रतियोगितामा मानेभञ्ज्याङ्ग गाउँपालिका ५ मानेभञ्ज्याङ्ग प्रथम, मानेभञ्ज्याङ्ग ४ पंखु दोश्रो र मानेभञ्ज्याङ्ग ३ उवुँ तेश्रो भएका छन् । विजेता महिला टिमले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आन्तरिक पर्यटन, कृषि र पूर्वाधार – स्वस्थ युवा विकासको आधार भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको शोमवार संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले गर्नुभएको थियो । त्यस्तै समापन भने प्रदेश सभा ख का सांसद मोहन कुमार खड्काले गर्नुभएको हो । प्रतियोगिता शुक्रबार नै समापन गर्ने गरि सञ्चालन गरिएको भएपनि शुक्रबार पानी परेका कारण खेल एकदिन लम्बिएको प्रतियोगिताका निर्णायक गोविन्दराम तामाङले जानकारी दिनुभयो । खेलकुद प्रतियोगिता लम्बिएपछि व्यस्तताका कारण समापनसत्रका प्रमुख अतिथि माननिय सांसद मोहन कुमार खड्काले शुभकामना मन्तव्य दिएर हिड्नुभएको थियो ।
भलिवल प्रतियोगिताका मुख्य निर्णायक जिल्ला भलिवल संघ ओखलढुङ्गाका अध्यक्ष रुपलाल तामाङको नेतृत्वमा निर्णायकहरु नारायणकाजी राई, सुधिर कार्की, विष्णु राई र गोविन्दराम तामाङले निर्णयकर्ताको जिम्मेवारी सम्हालेका थिए । खेलकुद प्रतियोगितामा ब्याडमिन्टन तर्फ हेमन्त राई र युवराज राईको टोली प्रथम भएको थियो । ब्याडमिन्टन तर्फका विजयीहरु प्रथम हुनेले नगद रु १० हजार, दोश्रो हुनेले नगद रु ७ हजार र तेश्रो हुने दुवै टिमले क्रमशः नगद रु २ हजार ५ सय, २ हजार ५ सय प्राप्त गरेको पनि निर्णायक गोविन्दराम तामाङले जानकारी दिनुभयो ।