नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रहेनन पूर्व प्रधानमन्त्री गिरी

ओखलढुङ्गान्युज, पुष ३ पुस, काठमाण्डौं ।  पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको हो ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेलामा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको पारिवारीक श्रोतले बताएको छ । कलेजोमा क्यान्सर रोग लागेका गिरीलाई १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले गिरीको थप उपचार हुन नसक्ने बताएपछि अस्पतालबाट घरमा ल्याइएको थियो । त्यसपछि मंगलबार बिहानै उनको देहान्त भएको हो ।

२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि कट्टर पञ्चका रुपमा चिनिन्थे । राजा महेन्द्रलाई साथ दिएका गिरीले राजा वीरेन्द्रलाई भने साथ दिएनन् । २०३६ सालमा नेपालमा राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गर्दा वैचारिक रुपमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

त्यस्तै २०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्केका थिए । त्यसपछि उनलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाईयो । २०६२÷६३ को जनआन्दोलन पश्चात राजतन्त्र ढलेपनि उनी नेपालमै बसेका थिए । जहिलेदेखी उनी राजतन्त्रलाई समर्थन गर्नथाले त्यहाँदेखि आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर भैरहे । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीकालागि मंगलबार निवासमै राखिने परिवारले जनाएको छ ।