नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

धमाधम गाउँपालिका केन्द्रमा अस्थाई प्रहरी चौकी विस्तार

ओखलढुङ्गान्युज, मंशिर २८ ओखलढुङ्गा । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लाका स्थानय तहका केन्द्रहरुमा प्रहरी चौकीको पोष्ट विस्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले बैङ्कीङ कारोवार सुरु भएका स्थानिय तहहरुमा अस्थाई प्रहरी चौकी स्थापना गरेको हो । गाउँपालिकाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विशेषतः बैङ्क पुगेका स्थानिय तहहरुमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको थियो । मोलुङ गाउँपालिकालाई लक्षित गरेर सनराईज बैंकले आफ्नो शाखा विस्तार गरिसकेको छ । त्यस्तैगरि बुधबार पनि लिखु गाउँपालिकाको केन्द्र यसममा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।

स्थानिय तहले नै सबैखर्च ब्यबस्थापन गर्नेगरि स्थापना भएका प्रहरी चौकीहरुमा एक केन्द्र बराबर पाँच जना प्रहरी जवान खटाईने छ । गाँउपालिकाको केन्द्रबाट हुने आर्थीक, मानवीय तथा प्रशासनिक काममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो ।

केही समयअघि लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेल माथी मध्यराती सांघातिक आक्रमण भएपछि स्थानिय तहका जनप्रतिनिधीहरु त्रासमा रहेका थिए । उता गाँउपालिका तहमा खटाइएका बैंक तथा बित्तिय संस्थाहरुले पनि सुरक्षाका कारण देखाउदै स्थानिय तहमा जान आनाकानी गरिरहेका थिए । अब भने सबै स्थानिय तहमा धमाधम अस्थाई प्रहरी चौकी स्थापना भएपछि त्यस क्षेत्रका नागरिक, जनप्रतिनिधी तथा बित्तिय संस्थाहरुले समेत सुरक्षीत महशुस गर्न थालेका छन् ।

एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुङ्गामा अझैसम्म पनि तिन ओटा स्थानिय तहमा बैङ्क पुग्न सकेको छैन । बैङ्क पुग्न नसक्ने गाउँपालिकाहरुमा चिसंखुगढी गाउँपालिका शेर्ना, चम्पादेबी गाउँपालिका कालिका र सुनकोशी गाँउपालिका मूलखर्क रहेका छन् । गाउँपालिका केन्द्रमा बैंक नपुगेको भएपनि चम्पादेबी र सुनकोशी गाँउपालिका केन्द्रमा भने यथासिघ्र स्थाई प्रहरी चौकी स्थापना गरीने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।