नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भ्रष्टाचार नगर्ने र हुनपनि नदिने ओखलढुङ्गाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

ओखलढुङ्गान्युज, मंशिर २३ ओखलढुङ्गा । संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा जुनकुनै किसिमको भ्रटाचार अमान्य रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस डिसेम्बर ९ को अवसर पारेर ओखलढुङ्गामा नागरिक समाजका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको हस्ताक्षर अभियानमा हस्ताक्षर कार्यक्रम पश्चात सांसद सुनुवारले यस्तो वताउनुभएको हो । आईतवार ओखलढुङ्गामा आयोजित सामुहिक हस्ताक्षर पश्चात भ्रष्टाचार मुक्त समाज निर्माणका लागि जनप्रतिनिधीहरुले प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा कृयाशिल विभिन्न नागरिक समाज संघसंस्थाहरुको संयुक्त आयोजनामा आईतवार भ्रष्टाचारमुक्त समाज हाम्रो अभियान भन्ने राष्ट्रिय अभियान अन्तर्गत ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराका साथ हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । करीब एकघण्टा सञ्चालन गरिएको हस्ताक्षर अभियानमा झण्डै एकसय जनाले सहभागिता जनाएका थिए ।

हस्ताक्षर अभियानमा संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेशसभा क ओखलढुङ्गाका सांसद अमिरबाबु गुरुङ्ग, प्रदेशसभा ख का सांसद मोहन कुमार खड्का हिमशिखरले सुरुमा प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गर्नुभएको थियो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख जय वहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी, मोलुङ गाउँपालिकाका अध्यक्ष मणीराज राई, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेद बहादुर रोकाले भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिबद्धता पत्रमा नेपाल कम्युनिष्ट पार्टी ओखलढुङ्गाका जिल्ला कार्यदल सदस्य नेत्र प्रसाद भट्टराई, नेपाली कांग्रेसका जिल्ला सभापती प्रदिप कुमार सुनुवार, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पनि हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरि जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, नागरिक समाजका संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकारहरु र जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले समेत भ्रष्टाचार विरुद्धको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रमको अबसर पारेर नागरिक समाजका संस्थाहरुको तर्फवाट स्थानीय तहका प्रमुखहरुलाई ११ बुँदे ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको थियो । गाउँपालिका प्रमुखहरुलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘संघीय संरचना अनुसार ७५३ वटै पालिकामा नयाँ जनप्रतिनिधि निर्बाचित भएर आफ्नो जिम्मेवारी सम्हाली रहनु भएको छ । निर्बाचित प्रतिनिधिमा आफूले निर्वाचनका दौरानमा गरेका प्रतिवद्धताअनुसार विकास कसरी गर्ने भन्ने उच्च हौशला देखिएको छ । त्यसैले स्थानीय तहको नेतृत्वमा देखिएको विकास गर्ने “हुट्हुटी” र “उत्साह” मा जनताको तर्फबाट पनि साथ र सहयोग हुनुपर्दछ भन्ने हेतुले यो भ्रष्टाचार विरूद्धको ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।’

हस्तान्तरण गरिएको पत्रमा, भ्रष्टाचार नियन्त्रणका लागि यसअघि बनेका कानुनहरूको अक्षरशः पालना गर्न, प्रदेश तथा स्थानीय तहमा अनुकूल हुनेगरी भ्रष्टाचारविरूद्धका कानुनी संरचना अविलम्ब निर्माण गरी लागु गर्न, प्रदेश तथा स्थानीय तहमा भ्रष्टाचार हुने जोखिमयुक्त स्थानको पहिचान गरी निगरानी बढाउन, राजनीतिक तथा प्रशासनिक क्रियाकलापमा पारदर्शिता बढाउन, भ्रष्टाचार विरूद्धको अभियानलाई प्रभावकारी बनाउन नागरिक संस्थाहरूसँग हातेमालो गर्न, राजनीतिक तथा प्रशासनिक नेतृत्वले “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न” भनेर सार्वजनिक प्रतिवद्धता जनाउन लगायतको ११ बुदाँमा ध्यानाकर्षण गराईएको छ ।

त्यस्तै अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसर पारेर आईतवार नै ओखलढुङ्गाका नागरिक समाजका संघसंस्थाहरुले संयुक्त रुपमा एक विज्ञप्ती जारी गरेका छन् । जारी विज्ञप्तीमा भनिएको छ, जिल्लाको समग्र विकासको लागि हुदै आएको जिल्लाका निर्वाचित सबै तह र तप्काका जनप्रतिनिधी तथा नागरिकसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरोकार राख्ने सरकारी कार्यालयहरुसँगको सहकार्यलाई सम्मान गर्दै, आगामी दिनमा यस जिल्लाको योजना निर्माण प्रकृया, कार्यान्वयन तथा अनुगमन र मुल्यांकनलाई अझ बढि सहभागितामुलक, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य सहित हामी तपशिल बमोजिमका नागरिक समाज संस्थाका प्रतिनिधीहरु सुशासन प्रवद्र्धन गर्न प्रतिवद्धता जनाउदछौं ।

त्यस्तैगरि पछिल्ला केही समयदेखी नागरिक समाजका संस्थाहरुलाई लाग्दै आएको अपारदर्शीको आरोपको सन्र्दभमा पनि अरुलाई सिकाउन आफैवाट सुरुवात गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासात गर्दै उक्त कार्यमा पनि पारदर्शी हुन जरुरी रहेको भन्दै त्यसका लागि आफुहरु प्रतिबद्ध रहेको उल्लेख छ । विज्ञप्तीमा ओखलढुङ्गा जिल्लामा भै रहेको भूकम्प पश्चातको पुननिर्माण कार्यमा सुस्तता आएकोले त्यसलाई तीब्रता दिन, लक्षित वर्गका लागि हुने बजेट विनियोजन तथा सुशासनसँग सम्बन्धित ऐन, नियम र कार्यविधी बनाई अगाडी बढ्न जिल्लामा क्रियाशील रहेका नागरिक समाज संघसंस्थाहरु सहकार्यका लागि तयार रहेको तथा जिल्लामा हुने हरेक क्षेत्र तथा विषयको अनियमितता एवम् महिला हिंसा नियन्त्रणका लागि पनि आफुहरुको ऐक्यबद्धता रहेको उल्लेख छ । हस्ताक्षर अभियानकाे समन्वयकारी भूमिका भने साेच नेपालले गरेकाे हाे । 

हस्ताक्षर गर्दै माननिय सा‌सद तथा प्रमुख जिल्ला अधिकारी :