नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सांसद ज्यू हामीले कहिले गाडी चढ्न पाउने ?

विवेश श्रेष्ठ, कातिक २९ ककनी । करीब ४०–४५ जनाको मानिसहरुको हुल । भर्खरै निर्माण हुदै गरेको सडकवाट हुरुरु हिड्दै थिए । नयाँ सडक खनेको हो कि मानिसलाई धराप थापेको हो भन्ने भान हुन्थ्यो हिड्दा । सडकमा हिड्दै गर्दा कोही नेपाल सरकारलाई गालि गरिरहेका थिए त कोहि सडक डिभिजन कार्यालयलाई । कोही सडकको सर्बे र डिपीआर गर्ने ईञ्जिनियरलाई त कोही सडकको निर्माण गर्ने ठेकेदारलाई ।

गाली गर्ने र सुन्ने ती मानिसहरुको हुल सगै थिए प्रतिनिसभाका सांसद माननिय यज्ञराज सुनुवार, ओखलढुङ्गाका प्रदेश सभा ख का सांसद माननिय मोहन कुमार खड्का हिमशिखर, हर्कपुर ओखलढुङ्गा सडक डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर विजय थापा । सुनकोसी गाउपालिका र चम्पादेवी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी र केही बौद्धिकहरुको जमात पनि थियो । सगै उक्त सडक निर्माणको ठेक्का पाएको ब्रिटिश अनुभवी कन्ट्रक्सनका प्रतिनिधी जीत बहादुर श्रेष्ठ पनि ।

प्रतिनिधी सभाका सांसद सुनुवार र प्रदेश सभाका सांसद खड्कासग स्थानीय केही युवा जमातले सडकको निर्माणको बारेमा गुनासो गरिरहेका थिए । सजिलो र छिटो अर्थात माथिल्लो वाटोवाट सडक निर्माण भएको भए दुई किलोमिटर कममा अर्थात ७ किलोमिटर सडक खन्दा ककनी मन्दिर पुग्न सकिने र चाडो सडक निर्माण सकिने बताउदै थिए । अहिले सडक अनावश्यक स्थानसम्म घुमाईएको र त्यसो नगर्न ईञ्जिनियरलाई भन्दा उल्टै स्थानीयवासीलाई धम्क्याईएको स्थानीयको आरोप थियो ।

केही स्थानीयहरु सडक डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर विजय थापालाई सडक देखाउदै यो सडकमा कसरी गाडी गुड्न सक्छ ? सरकारी नियममा सडकको ग्रेड कती सम्म हुन्छ ? यत्रो लामो समय वितिसक्दापनि किन सडक समयमा नै सम्पन्न हुन नसकेको भन्दै प्रश्न गर्दै थिए । ईञ्जिनियर थापा टाउको हल्लाउदै हिड्दै हुनुहुन्थ्यो । स्थानीयले प्रश्न गरेपछि ईञ्जिनियर थापा खासमा यहाँ भएको चाही के भन्दै ठेकेदार कम्पनीका प्रतिनिधी श्रेष्ठपटि फर्कनुहुन्थ्यो । श्रेष्ठपनि केही भन्न खोज्दै थिए, तर अवसर पाईरहेका थिएनन् ।

ठेकेदार कम्पनीका प्रतिनिधि श्रेष्ठले अबसर पाउनसाथ सडक डिभिजन प्रमुख ईञ्जिनियर थापा सग गुनासो गर्न भ्याईहाले । ‘सर अस्ती भरखर मात्रै नेपाली कांग्रेसका रामहरि खतिवडा लगायतका नेताहरु आएर के के भाषण गरे रे । सायद आजको सांसदहरुको अनुगमन पनि त्यसैको काउन्टरमा हुन सक्छ । आज मलाई सांसदहरुले अलिक गाली गर्छन् होला ।’ श्रेष्ठ भन्दैथिए, ‘हुन त म सांसदहरुको भन्दा अलिक भिन्दै राजनितिक आस्था भएको मान्छे हुँ । त्यसैले मलाई अलिक पेलान होला । यसभन्दा अगाडी काम गरेको ६८ लाख पैसाको बिल बुझाएको एक वर्ष नाघ्न लागि सक्यो भुक्तानी भएको छैन । म यो पेलानमा कसरी काम गर्न सक्छु ? मेरो पैसा निकासा भएमा ग्रेड मिलाएर कामलाई अघि बढाउछु ।’

ईञ्जिनियर थापाको जवाफ थियो, ‘यसरी भएको अनुगमन कार्यलाई पेलानको रुपमा लिनुहुन्न । माननियहरुले बेलाबेलामा तताउने काम गर्नुपर्छ र पो काम हुन्छ । यो वेला अलिक चासो पनि लिनुभएको छ । कहाँ नेर नमिलेको र समस्या भएको हो । पहिचान गरेर समस्यालाई समाधान गरि कामलाई अघि बढाउनुपर्छ । म पनि चाडै प्रदेश मन्त्रालयमा गएर रोकिएको कामलाई फुकुवाका लागि पहल गर्छु । माननियहरुलाई पनि हामीले रोकिएको कामको फुकुवाको लागि पहल गराउन अनुरोध गर्नुप¥यो ।’

करीब चार किलोमिटर सडक पार गर्न २ घण्टा ३० मिनेट पैदलयात्रा गर्नु परेको थियो । सडक अनुगमन पश्चात सनराईज ककनी दोभान युवा क्लवले आफ्नो स्थापनाको उद्घाटन सगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले गीत मार्फत ककनीवासीले गाडी चढ्न नपाएको, विजुली बाल्न नपाएको, फोनको सुविधा नपाएको, प्रजातन्त्र देखी हालको संघिय संरचना बन्दा सम्म पनि ककनी गाउँले मुहार फेर्न नसकेको गुनासो गरेका थिए ।

त्यस्तै स्थानीय मान बहादुर तामाङ, पार्वती तामाङ लगायतले अन्तरक्रियामा सहभागी माननियहरुलाई ककनी गाउँका स्थानीयले कहिले गाडि चढ्न पाउछन्, जुन नेताहरु आउदा पनि आश्वासन मात्रै पाउने र भोट बैंकको रुपमा मात्रै प्रयोग गरिने गरिएको भन्दै ककनीका नागरिकहरुले नुन, तेल र चामलका लागि भन्दै बोकीने ढाकर विसाउने दिन कहिले आउला भनेर प्रश्न गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सुनकोसी गाउँपालिका वडा नं. ५ र ९ का वडाअध्यक्ष द्वय गोविन्दराम तामाङ र झनक कुमार कार्कीले सडकको बृस्तृत अन्तिम सर्बे गर्दा गलत भएको बताउदै यसले ककनीका नागरिकलाई फाईदा भन्दा घाटा बढी पुर्याएको भन्दै यसमा संसदवाट नै पहल गरिनुपर्ने बताएका थिए । त्यस्तै विगतका वर्षहरुमा ककनीको विकासका लागि दिर्घकालीन सोच र योजना नहुदा विकासमा पछाडी परेको भन्दै आफुहरुको कार्यकालमा त्यसलाई पुरा गर्न लागि परिरहने र सांसद ज्यूहरुले पनि त्यसलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसद मोहन कुमार खड्काले ककनी गाउँका नागरिकहरुको आशा र निराशा दुवै स्वभाविक भएको भन्दै सडक निर्माणको सन्दर्भमा अब डिपिआर हेरेर मात्रै त्यसको बास्तविकता टुङ्गो लाग्ने र सम्बन्धितलाई पुरस्कृत गर्नुपर्ने कि कार्वाही गर्नुपर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो ।

सडक निर्माणको कामको बारेमा प्रदेश सरकारलाई हालसम्म पनि केही हस्तान्तरण नभएकोले प्रदेश सरकारले यसै आर्थिक वर्षमा चाही केही गर्न नसक्ने बताउदै ककनीको अन्य विकासका लागि आफु सदैव साथमा रहेको पनि बताउनुभएको थियो । ककनीका नागरिहकहरुले स्वागतको रुपमा लगाईदिएको फुलको मालालाई आफुहरुले नेलको रुपमा लिने बताउदै ककनी र समग्र ओखलढुङ्गाले मुहार फेरे मात्रै आफुले नेल फुकुवा भएको रुपमा लिने साथै आफु सफल हुने पनि बताउनुभयो ।

कार्यक्रममा हर्कपुर–ओखलढुङ्गा सडक डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर विजय थापाले आफुले पहिलो पटक विकासका लागि नागरिकहरुको यस्तो चासो देखेको भन्दै यसैगरि सबै नागरिकहरुले चासो दिने हो भने विकास चाडो हुने बताउनुभएको थियो । त्यस्तै सडक निर्माणका क्रममा केही त्रुटी समेत देखिएको भन्दै त्यसमा केही सुधारको कार्य चाही गर्नुपर्ने तर खासै गलत नै चाही नभएको बताउनुभयो ।

ठेकेदार कम्पनीले ९ किलोमिटर सडकको लागी दुईवर्ष अगाडी १२ करोडमा ठेक्का पाएका थिए । ठेक्का पाएको तीन वर्ष लाग्दै गर्दा नवलपुर–पलापु–फलाटे–ककनी सडक खण्डमा ठेकेदार कम्पनीले हाल सम्म करीब साढे ६ किलोमिटर बाटो बनाएको र ३ हजार घनामिटर ग्याविन वाल लगाएको जनाएको छ । ठेकेदार कम्पनीले सडकको दुईतर्फवाट सडक निर्माण सुरुवात गरेको, नवलपुर–पलापु सडक खण्डमा साढे २ किलो मिटर र कोषभञ्ज्याङ्ग–ककनी तर्फ चार किलोमिटर सडक खनेको जनाएको छ । कोषभञ्ज्याङ्गवाट ककजी जोड्ने ट्रयाक खोल्न मात्रै अझै ५ किलोमिटर बाकी रहेको छ भने कही कतै ग्याविन वाल र मेसनरी वाल लगाईएको छैन ।

निर्माणाधिन सडकखण्ड अन्र्तगत ककनी खोलामा गत साउनमा पहिरो खसी खोला थुनिदा आधा दर्जन बढि घरहरु जोखिममा परेको थियो । खनिएको भनिएको सडकको करीब आधा किलोमिटर सडक खण्ड अहिले हेर्दा उक्त स्थानमा सडक खनिएको हो भन्ने केही देख्न सकिन्न । उक्त स्थानमा पहिरो जान सक्ने र पहिरो गयो भने फेरी ककनी गाउँका केही घरहरु जोखिमा नै रहनेछन् । यसका वावजुद पनि सांसदहरुले आफ्नो कार्यकालभरिमा ककनी गाउँमा गाडी चलाएरै छाड्ने र ओखलढुङ्गाका सबै आधारभुत तहसम्मका विद्यालयहरुका कम्प्युटर आइटीका कक्षाहरु सञ्चालन गराउने प्रतिबद्धता जनाएका छन् ।