नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बुबा–आमाको नाममा विद्यालयमा पाँच लाखको अक्षयकोष

ओखलढुङ्गान्युज, कातिक २८ ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकामको सगरमाथा जनता माद्यमिक विद्यालयमा नगद पाँचलाखको अक्षयकोषको स्थापना गरिएको छ । ओखलढुङ्गाका सदरमुकाममा नै जन्मिएर देशका विभिन्न भागहरुमा विभिन्न पेशा मार्फत कर्मथलो बनाउनु भएका चार समाजसेवीहरुले आफ्ना बुबा–आमाको नाममा पाँचलाखको अक्षयकोषको स्थापना गर्नुभएको हो ।

स्वर्गीय घनश्याम श्रेष्ठ तथा जलपादेवी श्रेष्ठको छोरी तथा छोराहरुले आफ्ना दिवंगत हुनुभएका बुबा आमाको स्मृतीमा अक्षय कोषको स्थापना गर्नुभएको हो । ओखलढुङ्गा सदरमुकामको सगरमाथा जनता माद्यमिक विद्यालयमा बुधवार एक कार्यक्रमको आयोजना गर्दै स्वर्गीय ‘घनश्याम श्रेष्ठ–जलपादेवी स्मृती अक्षयकोष’ को स्थापना गर्दै लागि नगद पाँचलाखको चेक विद्यालयका प्रधानाध्यापक माधव कुमार मास्केलाई हस्तान्तरण गर्नुभएको हो ।

स्वर्गीय श्रेष्ठ द्वयका छोरी ईन्दिरा श्रेष्ठ तथा छोराहरु महेश श्रेष्ठ, राजेश श्रेष्ठ, मकुन्द श्रेष्ठले संयुक्त रुपमा प्रधानाध्यापक मासकेलाई चेक हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोष स्थापनाको लागि विद्यालयलाई पाँचलाख रुपैयाको चेक उपलब्ध गराएकोमा विद्यालयको तर्फवाट सहयोगी हातहरुलाई धन्यवाद दिदै विद्यालय परिवार र कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरुले फुलमाला र सम्मान पत्रले सम्मान समेत गर्नुभएको थियो ।

अक्षय कोषको रकम ओखलढुङ्गामा रहेको मेगा बैंकको खातामा रहने छ । बैंकमा रहेको नगदवाट प्रत्येक वर्ष प्राप्त हुने व्याज वापतको रकमवाट विद्यालयका उत्कृष्ट एवम् गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वापत रकम प्रदान गर्नेगरि अक्षयकोषको स्थापना भएको विद्यालयका प्रधानाध्यापक मास्केले जानकारी दिनुभयो ।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने लगायत बक्ताहरुले शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । अक्षयकोषको स्थापनाका लागि सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिदै बक्ताहरुले अक्षयकोष रकम उद्देश्य मुताविक प्रयोग गर्न पनि विद्यालयलाई अनुरोध गर्नभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनोरञ्जन प्रदान गरेका थिए ।