नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पर्यटकीय क्षेत्र लगलगेमा भ्यु टावरको निमार्ण कार्य तिब्र

ओखलढुङ्गान्युज, असोज २५ ओखलढुङ्गा । ओखलढुङ्गाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले नगरपालिका क्षेत्रमा पर्यटकलाई भित्राउने उद्देश्यले सिद्धिचरण नगरपालिकाले भ्युटावर बनाउदै छ । नगरपालिकाको वडा नं. ८ मा रहेको लगलगेडाँडा भन्ने स्थानमा निर्माणाधिन भ्यु टावरको निमार्ण कार्य तिब्र गतीमा भएको छ । समुन्द्री सतहबाट करिब २ हजार २ सय मिटरभन्दा अग्लो स्थानमा निर्माण हुदै गरेको भ्यू टावरको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

२०७४ असारमा शिलान्यास गरिएको भ्युटावरको शिलान्यास भएको एकवर्ष भित्रै २०७४ असारबाट निर्माणकार्य सुरु गरिएको थियो । सिद्धिचरण नगरपालीकाका जनप्रतिनिधिले आफु निर्वाचित भएपछि दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सपथ लिनु भन्दा अगाडी भ्युटावर सिल्यान्यास गरेका थिए । भ्यु टावरका लागी नगरपालिका र शाक्य निमार्ण सेवाबिच लगभग २३ लाखको लागतमा निमार्ण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

भ्युटावर सात महिनामा सक्नेगरी निमार्णको सम्झौता भएको छ । सम्झौता अनुसार ठेकेदार कम्पनीले आगामी मंसिर १५ गते भित्र टावरको निमार्णकार्य सम्पन्न गर्नुपर्नेछ । तर सदरमुकामको उच्च स्थानमा रहेको उक्त स्थानमा निर्माणाधिन टावरका लागी पानी तथा सामान ढुवानीमा भने समस्या भएको ठेकेदारले वताएका छन् । सामाग्रीमा ढुवानीको समस्याका कारण मंशिरमा नै निर्माण कार्य सम्पन्न हुने कुरामा भने संका पैदा भएको छ ।

भ्युटावरको निर्माणस्थलमा पानीको अभाव भएकाले हालैमात्र ठुलो प्लास्टिक पोखरी निमार्ण गरी आकाशे पानी जम्मा गर्ने गरिएको छ । गिटी, बालुुवा, सिमेन्ट तथा रड लगायतका निमार्णका सामाग्री भने मानिसले बोकेर पुर्याउने गरेका कारण निर्माण कार्यमा समस्या भएको निर्माण ठेकेदार कम्पनीका प्रतिनिधीले बताए । भ्यु टावर निमार्ण स्थलसम्म कुनैपनि सवारीसाधन पुग्दैन । त्यसैले निर्माणका लागि प्रयोग हुने सामाग्रीहरु १ किलो मिटर तलबाटै मानिसले बोकेर लाने गरेका छन् ।

सदरमुकामदेखि ५ किलोमिटरको दूरीमा रहेको लगलगे क्षेत्रलाई पर्यटकीय क्षेत्रमा बिकास गर्न भ्यू टावरले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले भ्यु टावर मार्फत जिल्लामा आन्तरीक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उक्त स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौं बढी हिमशृंखलाहरु र तराईको समथर भुभाग देख्न सकिन्छ । भ्यु टावरको निर्माण कार्य सम्पन्न सगै पर्यटकहरुका लागि व्यवस्थित खानेपानीको पनि व्यबस्थापन गर्न सके पर्यटकहरुको आगमन सगै यो भ्युटावर नगरपालिका क्षेत्रको राम्रो आम्दानीको श्रोत हुनसक्ने सरोकारवालाहरु बताउछन् ।