नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

टि-ट्वान्टी विश्वकप छनौटको तेश्रो खेलमा नेपालको सानदार जित

ओखलढुङ्गान्युज, असोज २२ काठमाण्डौं । टि–ट्वान्टी विश्वकपको एसिया उप–क्षेत्रीय छनौटमा आईतवार पनि जित निकाले सगै नेपालले लगातार तेस्रो जित हात पारेको छ । आर्इतबार भएको खेलमा नेपालले थाइल्यान्डलार्इ डकवर्थ एण्ड लुइस नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेल सम्पन्न हुनुअघि मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो । नेपालभन्दा थाईल्याण्ड तुलनात्मक रुपमा कमजोर मानिन्छ । तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्डविरुद्ध माथिल्लो क्रमका नेपाली ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् ।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलार्इ निरन्तरता दिन सकेन । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए । माथिल्लो श्रेणीमा रहेका यी कुनैपनि व्याट्सम्यानहरुले अर्धसतक समेत बनाउन सकेनन् । झन कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा पवेलिभन फर्किए ।

ज्ञानेन्द्रले सात र पारसले जम्मा ५ रन जोडे । आरिफ शेख आठ रनमा नै मैदान बाहिरिए । नेपालले एक सय २८ रनमा सात विकेट गुमाएको थियो । तर करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए । दुइ चौका र चार छक्का प्रहार गरे ।

करणले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काएका थिए । सोमपाल चार रनमा अविजीत रहे । जवाफमा थाइल्यान्ड ८ ओभर ५ बलमा १८ रनको अवस्थामा भारी बर्षा सुरुवात भयो । भारी वर्षातका कारण खेल संभव भएन र खेललाई डकवर्थ एण्ड लुइस नियमका आधारमा निर्णय गरियो ।

थाइल्याण्ड विरुद्ध नेपालका संदिप लामिछानेले पांच विकेट लिएपछि थाइल्यान्डको पारी ध्वस्त बनेको थियो । जारी प्रतियोगितामा सन्दिपले लगातार दुई खेलमा ५ विकेट लिएका हुन । उनले यसअघि मलेसिया विरुद्ध पनि ५ विकेट लिएका थिए ।

टि–ट्वान्टी विश्वकपको एसिया उप–क्षेत्रीय छनौटको जारी प्रतियोगितामा नेपाल अपराजित छ । आफ्नो पहिलो खेलमा म्यानमारलाइ आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसिया माथि पनि आठ विकेटकै जित हात पारेको थियो ।