नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

भूकम्प पछिको पूननिर्माणले गाउँका घर जस्तामय

ओखलढुङ्गान्युज, असोज ५ ओखलढुंगा । भुकम्प पछिको पूननिर्माणले गर्दा गाउँघर अहिले जस्तामय बनेको छ । भुकम्प पछिको पुननिर्माणका क्रममा स्थानीयले रंगीन जस्ताको प्रयोग गर्दा अहिले गाउँको अनुहार नै बदलिएको हो । भूकम्पपछि ओखलढुङ्गामा पुनर्निर्माण भएका अधिकांश घरमा रंगीन जस्ताको छाना हालिएका छन् । डाँडामा बसेर गाउँतिर हेर्दा ग्रामिण भेगमा लोभलाग्दा हरिया, नीलैनीला घर बग्रेल्ती देखिन थालेका छन् ।

पहिले पहिले गाउँमा अलिक सम्पन्न र धनी मानिएकाहरुले ढुंगाकोे लगाउँथे भने बाकी सबैको घरमा खरको छानो हुन्थ्यो । जस्ताको प्रयोग थिएन । गाउँगाउँमा सडक नजिक आउन थालेसंगै केहीले जस्ता लगाएका थिए । तर भुकम्प पछि गाउँ नै जस्तामय भएको गाम्नाङ्गटारका पुर्व गाबिस सचिव समेत रहेका होमनहरी भट्टराईले बताउनुभयो ।

गाउँघरमा रहेका ढुंगा तथा खरको छाना भएका प्राय सबै घरहरु भूकम्पले क्षतिग्रस्त बनेका थिए । भुकम्प पछिको पुननिर्माणको क्रममा फेरी पनि स्थानीयहरुले घरको छानामा ढुंगा र खरको छाना हाल्न कोशिश नगरेका भने हैनन् । गाउँमा भुकम्पको पुननिर्माणमा खटिएका प्राविधिकले ढुंगा र टायल तथा खरको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रंगीन कर्कटपाता बनेको लिखु ६ का शेरबहादुर मगरले बताउनुभयो ।

गह्रौं छानालाई प्राविधिकले अस्वीकार गरेको कारण र हलुका निर्माण सामाग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाहअनुसार भुकम्प प्रभाबितहरुले हलुका छानोको रुपमा कर्कट जस्तापाता प्रयोग गरेका हुन् । ओखलढुङ्गामा भुकम्प पछि पुननिर्माणका क्रममा हाल सम्म १८ हजार बढी घरहरुमा जस्ताको प्रयोग गरिएको छ । ठूलो घरहरु बन्दा घरमा बढी बोझ पनि हुने र त्यसमाथि पनि छानोमा ढुंगा तथा खरको प्रयोग गर्दा सामान्य भुकम्पको पराकम्पनले पनि क्षतिहुने भएकोले घर निर्माण गर्दा छानामा हलुको खालको कर्कट जस्तापाताको प्रयोग गर्न सिफारिस गरिएको प्राबिधिकहरु बताउछन् ।

ओखलढुङ्गामा भुकम्प पछि पुनःनिर्माण गरीएका घरहरुमा सत प्रतिशत जस्तै रंगीन कर्कटपाताको प्रयोग गरिएको छ । भुकम्पले बढी क्षती भएको जिल्लाको पश्चिमी भुभाग लिखु गाउँपालीका र खिजीदेम्वा गाउँपालीकामा बनेका घरहरु रंगी बिरंगी नै देखीन्छन् । साविकको गाम्नाङ्गटार लिखु गाउँपालीकाको वडा नं ६ र ७ मा पुनर्निर्माण भएका करिब १ हजार घर र टारकेराबारीका ५ सय बढी घरमा राता हरीया र निलाजस्ताको छाना हालिएको छ  ।

एकै नासका घर अनि एकै नासका छाना पुनः निर्माणका बेला अलि ध्यान दिएर घर बनाउन सकेको भए नमुना बस्तीझैं देखिन्थ्यो, तर नमुनातिर ध्यान नगएका कारण अलि नमिलेजस्तो भान भएको लिखु गाउँपालीका वडा नं ८ का वडा अध्यक्ष बिशालकुमार पौडेलले बताउनुभयो  । भुकम्प पछि गाउँमा सबैले एकैथरी घर बनाएका छन् । अधिकांशको २ कोठे घर छन् । दुईकोठे अनि एकतले घर उस्तै देखिन्छन ।

रामेछापको सैपु सिरीसे र ढाडेमा बिगत १० वर्ष अघि देखी हार्डवयेर सञ्चालन गरेर बसेका हेम कार्की ८० प्रतिशतभन्दा बढी नै रंगीन जस्ताको प्रयोग भएको बताउँछन् । सेतोजस्ता थोरैले लाने र धेरै जसो रंगीन नै लैजाने गरेको कार्कीको भनाई छ । कार्कीका अनुसार सादा जस्ताभन्दा रंगीन जस्ताको मोल ज्यादा छ । मोल ज्यादा भए पनि रोजाइ रंगीनकै छ । रातो र हरियो रंगको जस्ता पनि प्रयोग भएको छ । रंगीनमा कम्पनीले ग्यारेन्टीसमेत दिने भएकाले सर्वसाधारण त्यसमा लोभिएको कार्कीकोे भनाई छ । सादाभन्दा रंगीन जस्ता बन्डलको २ हजारदेखि २ हजार ५ सयसम्म महँगो पर्छ तर पनि ग्राहकको रोजाईमा रंगीन जस्तानै परेको छ ।

ओखलढुङ्गा सदरमुकाममा लामो समय देखी हार्डवेर संचालन गर्दे आउनु भएका गोबिन्द श्रेष्ठका अनुसार जिल्ला सदरमुकामबाट पहिलेको भन्दा ५ गुना बढी जस्ताको ब्यापार बढेको छ । सदरमुकाममा करीब ९५ प्रतिशत रंगीन जस्ता र ५ प्रतिशतको हाराहारीमा मात्रै सेतो जस्ता बिक्री हुने गरेको छ । जस्तामा पनि बढी मात्रामा रंगीन जस्ताको माग बढेका कारण कहिले काही बजारको मागलाई आफुले पुरा गर्न नसक्ने अवस्था समेत सिर्जना भएको उहाँले बताउनु भयो ।

ओखलढुङ्गामा २०७२ सालमा गएको भूकम्पले करिब २२ हजार घरमा क्षति पुगेको छ  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती सबैलाई निजी आवास निर्माणका लागि योग्य भन्दै ३ लाख अनुदान पाउने सूचीमा समावेश गरेको छ । भुकम्पको अनुदान लाभग्राहीको सूचिमा नपरेका कतिपय नागरिहरुले समेत अहिले घर निर्माण गर्दा रंगिन जस्तापाताको नै प्रयोग गर्दै आएका छन् ।