नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

हर्कपुरका सन्तोष हत्याको आरोपी थापा सार्वजनिक

विएन श्रेष्ठ, भदौ १५ ओखलढुङ्गा । मोलुङ ३ हर्कपुरका सन्तोष कार्कीको हत्याको आरोपमा पक्राउ परेका एक युवालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सार्वजनिक गरेको छ । विहिबार साझ एक पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका युवा संजित कुमार थापालाई ओखलढुङ्गा प्रहरीले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा भदौ ५ गते भएको घटना पश्चात अनुसन्धानको क्रममा दाङ जिल्लाको राप्ती गाउँपालिका भालुवाङ स्थायी ठेगाना भएका ३७ वर्षिय संजित कुमार थापाले नै घटना घटाएको देखिन आएकोले निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । बुधवार नेपालगञ्जको कोहलपुरवाट पक्राउ परेका थापालाई विहिवार नै ओखलढुङ्गा ल्याईपुर्याईएको थियो ।

जिल्ला प्रहरी कार्यालयले घटनाको थप अनुसन्धान कार्यका लागि जिल्ला अदालतमा विहिवार नै पेश गरेको छ । हिरासतमा राखी अनुसन्धान गर्नका लागि जिल्ला अदालतवाट सात दिनको म्याद थप गरिएको पनि प्रहरी प्रमुख शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

गत भदौ ५ गते मोलुङ गाउँपालिका वडा नं. ३ साविकको हर्कपुर ९ का सन्तोषको हत्याभए पश्चात सुक्ष्म अनुसन्धानको क्रममा प्रहरीले थापाको खोजी गरिरहेको थियो । अनुसन्धानका क्रममा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गावाट खटिई गएको प्रहरीको टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके सग समन्वय गर्दै थापालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० मा रहेको बसपार्कवाट पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ गर्नसाथ थापालाई ओखलढुङ्गा ल्याई जिल्ला अदालतमा म्याद थप गरि पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सन्तोषको वास्तविक हत्यारा थापा नै भए वा नभएको बारेमा थप अनुसन्धान भै रहेको र उनले नै हत्या गरेको भए के कति कारणले हत्या गरेको हो भनेर अनुसन्धान गरिरहेको पनि प्रहरी प्रमुुख शर्माले जानकारी दिनुभयो । थापालाई जिल्ला अदालत ओखलढुङ्गावाट मुलुकी अपराध संहिता ऐन २०७४, ज्यान सम्बन्धि कसूर मुद्दा अन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पनि प्रहरी प्रमुख शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आफ्नै घरमा बसेर टिभी हेरिरहेका कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । मृतक कार्कीको शरिरका विभिन्न भागहरुमा एक दर्जन भन्दा बढि धारिलो हतियारको चोट थियो । पक्राउ परेका थापा पहिले नेपाल प्रहरीमा जागिर खाएको, त्यसपछि त्यो छाडेर नेपाली सेनमा भर्ति भएको र त्यो पनि छाडेर अहिले पछिल्लो समयमा यूएईमा बस्दै आएका थिए । उनी केही दिन अघि मात्र दुबईबाट अर्काको नामको टिकटमा नेपाल आएको बताइएको छ ।