नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मानेभञ्ज्याङमा तीज विशेष वक्तृत्वकला प्रतियोगिता

ओखलढुङ्गान्युज, भदौ ११ मानेभञ्ज्याङ्ग । महिला जागरण, बाल विवाह नियन्त्रण हाम्रो अभियान भन्ने नाराका साथ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा तीज विशेष वडास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । महिलाहरुको नेतृत्व क्षमता बढाउने उद्देश्यले बक्तृत्वकलाको आयोजना गर्न लागिएको मानेभञ्ज्याङ्ग गाउँपालिका कार्यालयले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका जतिसक्दो धेरै ग्रामीण क्षेत्रका महिलाहरुलाई सहभागी गराउने लक्ष्य राखिएको छ पनि कार्यालयले जनाएको छ ।

साविकको गाविस तथा गाउँपालिका पश्चातको वडास्तरीय आमा समूह सञ्जाल र स्थानीय स्वास्थ्य संस्थाको संयोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो । वक्तृत्वकला प्रतियोगीता मानेभञ्ज्याङ गाउँपालिकाका ९ वटै वडामा सञ्चालन गरिने पनि आयोजकले जनाएको छ । वक्तृत्वकला प्रतियोगितालाई सहयोग भने मानेभञ्ज्याङ गाउँपालिकाले गरेको छ ।

तीजमा बढ्दो तडकभडक र छाडा गीतका कारण विकृति देखा परिरहेको छ । यस्तो बेलामा स्थानीय स्तरमा रचनात्मक ढंगबाट महिला शसक्तिकरण र नेतृत्वक्षमता बढाउनका लागि बोल्ने सीप विकास होस् भनेर वक्तृत्वकला प्रतियोगिताको अवधारणा अगाडि सारिएको मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताउनु भयो । कार्यक्रम सञ्चालनका लािग गाउँपालिकाको महिला लक्षित बजेटबाट प्रत्येक वडामा २० हजारका दरले बजेट हस्तान्तरण भइसकेको छ ।

प्रतियोगिता यही भदौ १६ गतेदेखि साताव्यापीरुपमा गाउँपालिकामा आयोजना हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई १ हजार, दोस्रोलाई ७०० र तेस्रोलाई ५०० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो छ । यस्ता सृजनशील कार्यक्रमहरु मार्फत समाजमा तडक भडक तथा हिंसाजन्य कृयाकलापहरुमा समेत कमी आउने अपेक्षा गरिएको छ ।