नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

अडियो नोटिस बोर्ड राख्न मन्त्रालयको निर्देशन

ओखलढुङ्गान्युज, भदौ १२ काठमाण्डौं । सबै स्थानीय तहहरुमा अडियो नोटिस बोर्ड राख्न मन्त्रालयले निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन जारी गरेको हो ।

जनतालाई बुझ्न सजिलो होस् तथा उनीहरुले पाउने सेवा सुबिधा सजिलोसँग पाउन भन्ने उद्देश्य र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले सञ्चालन गर्ने अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्ड स्थापना पश्चात त्यसबाट स्थानीय तहका काम कारवाही, सूचना र जानकारी मूलक कुरा सेवाग्राहीले सजिलै पाउन सक्ने मन्त्रालयले जनाएको छ । नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाजलाई रेकर्ड गरेर राखिन्छ ।

सामाजिक सुरक्षाभत्ता लगायत स्थानीय तहवाट उपलब्ध हुने सूचनाहरु समेत नोटिस बोर्डमा राखिने पनि मन्त्रालयले जानकारी दिएको छ । टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । उक्त ल्याण्डलाइन नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।