नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मातृ तथा बाल मृत्युदर घटाउन एक वडा एक बर्थिङ सेन्टर

ओखलढुङ्गान्युज, साउन २५ चम्पादेवी । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले मातृ तथा बाल मृत्युदरलाई घटाउन एक वडा एक बर्थिङ सेन्टरको अभियान थालनी गरेको छ । आफ्नो गाउँपालिकाका दुर्गम क्षेत्रका महिलाहरुमा गर्भअवस्थामा आईपर्ने समस्यालाई मध्यनजर गर्दै पालिकाले एक वडा एक बर्थिङ सेन्टरको अभियान थालनी गरेको हो ।

बर्थिङ सेन्टर अभावका कारण गर्भवती महिलालाई सुत्केरी गराउन अन्य स्थानमा लैजानुपर्ने बाध्यताले गर्भवती महिला तथा शिशुले अकालमै ज्यान गुमानुपर्ने बाध्यताको अन्त्यका लागी यो अभियानको थालनी गरिएको गाँउपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । अभियान अन्तरगत अहिले गाउपालिकाको फुलबारी, बिलन्दु, पलापु र कालीका लगायतका स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको छ ।

१० वटा वडा मध्ये गाउँपालिकाका चार वटा वडामा स्वास्थ्य केन्द्र नै छैनन् । ति वडाहरुमा पनि स्वास्थ्य केन्द्र स्थापनाको काम भैरहेको छ । स्वास्थ्य केन्द्र स्थापना पश्चात यसै आर्थिक बर्षको दशै अगावै बर्थिङ सेन्टर सहितको स्वास्थ्य केन्द्र स्थापना गरिने अध्यक्ष केसीको भनाई छ ।

वडावडामा बर्थिङ सेन्टर स्थापनाका लागी गाउँपालिकाले प्रत्येक वडामा करिब ५ लाख रुपैयाका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार यसअघिका स्वास्थ्य केन्द्रमा सेन्टर स्थापनाको काम भैरहेको र स्वास्थ्य केन्द्र नै नभएको वडाहरुमा केन्द्र स्थापनाको काम भैरहेको छ ।

बर्थिङ सेन्टरका लागी डेलिभरी बेड तथा अटोल्केभ उपकरण मेसिन आवश्यक पर्दछ । यस अघि उपकरण तथा स्वास्थ्य केन्द्रको अभावमा गर्भवती महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउदै आएका छन् । सोही अनुरुप गाउँपालिकाले मातृ तथा बाल मृत्युदरलाई घटाउन स्वास्थ्य शिर्षकलाई बिशेष प्राथमिकतामा राखी कार्ययोजना नै बनाएको हो । यो संगै गाँउपालिकाले शिक्षा, खानेपानी तथा सडकलाई पनि बिशेष प्राथमिकता राखेर काम गरिरहेको छ ।