नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा विक्रि हुन छाडे खाद्य संस्थानको चामल

ओखलढुङ्गान्युज, साउन १५ ओखलढुङ्गा । विगत वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा ओखलढुङ्गामा नेपाल खाद्य संस्थानले उपलब्ध गराउदै आएको चामल बिक्रि हुन छाडेको छ । बजारमा विक्रि हुने चामलको मुल्यको तुलनामा खाद्य संस्थानले कम मुल्यमा नै चामल उपलब्ध गराउदै आएको भएपनि खाद्य संस्थानको चामल विक्रीमा कमी आएको छ । ग्रामीण भेगमा सडक सञ्जालको विस्तार सगै खाद्यान्नका सामाग्रीहरु घरघरमा नै पुग्न थालेपछि पनि चामल विक्री हुन छाडेको हो ।

संस्थानको गोदाममा रहेको चामल बिक्री हुने क्रम क्रमशः घट्दै गए पनि यसवर्ष खाद्य संस्थानले ओखलढुङ्गामा चामलको मूल्य  प्रति क्विन्टल ४ हजार २ सय रूपैयाँ पुर्यावएको छ । अघिल्लो वर्षको तुलनामा यो मूल्य प्रति क्विन्टल १ हजार ७० रूपैयाँ बढी हो । यसवर्ष धानको कुटानी गर्दा महंगो परेको कारण चामलको मूल्य बढाईएको नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रदीपकुमार कापडीले जानकारी दिनुभयो । चामलको मुल्य पनि बढेको र बजारका ब्यापारीहरुले यातायातका साधन मार्फत घरघरमा नै चामल पु¥याईदिएका कारण खाद्य संस्थानको चामल बिक्रीमा कमी आएको निमित्त प्रमुख कापडीको भनाई छ ।

“तराईबाट खरिद गरेर आयात गरिने चामल यसवर्ष कुटानी महँगो पर्न गयो । कुटानी महंगो भएपछि संस्थानले आफुले घाटामा नै गएर चामल कम मूल्यमा बेच्ने कुरा आएन । त्यसैले खाद्य संस्थान चामलको मूल्य बढाउन बाध्य भएको हो,” निमित्त प्रमुख कापडीले भन्नुभयो । पछिल्लो पटक सरकारी चामलमा पनि मूल्य बृद्धि भएको, तत्काल नगदै कारोवार गर्नुुपर्ने,  बजारमा भने उधारो कारोबार पनि हुने र गाउँमै समेत पाउन थालेपछि संस्थानको चामलमा उपभोक्ताको आकर्षण घटेको हो । तीन चार वर्ष पहिलेसम्म खाद्य संस्थानमा चामल लिनका लागि सम्बन्धित गाविसको सिफारिस लिएर चामल लिन आउनेहरुको भिड हुने गथ्र्यो ।

आर्थिक वर्ष २०७४/७५ का लागि ओखलढुङ्गामा ८ सय क्विन्टल चामल ठेक्का लागेको कार्यालयले जनाएको छ । ठेक्का लागेको कुल चामल मध्ये हाल सम्म खाद्य संस्थानले साढे ५ सय क्विन्टल चामल मात्र बिक्री गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय क्विन्टल चामल बिक्री भएको थियो । ओखलढुंगामा बिक्री हुने खाद्य संस्थानको चामलमध्ये करिब १ सय ४४ क्विन्टल चामल बर्सेनि जिल्ला कारागार कार्यालयमा खर्च हुन्छ । केही वर्ष अघिसम्म ओखलढुङ्गामा करीब २ हजार क्विन्टलसम्म चामल बिक्री भएको संस्थानसँग रेकर्ड छ ।