नेपाली समय Loading...२०७८ आश्विन ३१ आईतवार

ओखलढुङ्गामा भुकम्पवाट क्षति भएको विद्यालय तिन वर्षमा आधापनि बनेनन्

विवेश श्रेष्ठ, साउन १२ ओखलढुङ्गा ।  भूकम्प गएर विद्यालयलाई क्षतविक्षत बनाएको तेश्रोवर्ष लाग्दा पनि ओखलढुङ्गा जिल्लाका अधिकांश विद्यालयहरुको पुननिर्माण हुन सकेका छैनन् । विद्यालयको पूननिर्माण समयमा नै हुन नसक्दा ओखलढुङ्गाको दुर्गम गाउँका विद्यालयमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता छ । कहिलेकाही ठिकै भएपनि बहुकक्षा शिक्षण गर्दा साना कक्षाका विद्यार्थीलाई सिकाउन कठिन हुने गरेको शिक्षकहरुले बताउने गरेका छन् ।

समस्यका बाबजुद पनि कहिले विद्यालयको चौरमा त कहिले बहुकक्षा शिक्षण विद्यालयमा भै रहेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले अस्थायी शिक्षण केन्द्र निर्माणका लागि आएको बजेट पहुँचका आधारमा वितरण गरेको थियो । अस्थायी शिक्षण केन्द्र समेत पहुँचका आधारमा वितरण भएपछि दुर्गममा भने जस्ता र चित्राका भरमा विद्यालय संचालन भइरहेका छन् । भूकम्पले कक्षा कोठा छुट्याएको गाह«ो भत्किएपछि चित्राले बारेर कतिपय विद्यालयको कक्षा कोठा छुट्याईएको छ । एक कक्षामा पढाउँदा अर्को कक्षामा आवाज सुनिएर पठन पाठन गर्न नमिल्ने अवस्था छ ।

फायल तस्वीर  : भिमसेनस्थान मा. वि .सत्लुङ्ग

कक्षा कोठा नहुँदा दुईओटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको सिद्धिचरण नगरपालिका वडा नं. १का राधा निरौला बताउनुहुन्छ । निरौला तिनपिप्ले आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले अस्थायी शिक्षण केन्द्र निर्माणका लागि आएको बजेट समेत पहुँचका आधारमा वितरण गरेका कारण आफ्नो विद्यालयको पहँुच नहँुदा समस्या झेलिरहनु परेको उहाँको गुनासो छ ।

त्यस्तै भवन अभावकै कारण मोलुङ गाउँपालिका ७ पात्लेको जनकल्याण अधारभूत विद्यालयले पनि समस्या झेली रहनु परेको छ । भूकम्पले भत्काएको भवन निर्माण हुन नसक्दा बहुकक्षा शिक्षण गर्नु पर्ने बाध्यता छ । भूकम्पले विद्यालयको शौचालय समेत भत्काएको थियो । भत्किएको शौचालय हालसम्म पुननिर्माण हुन नसक्दा शौच गर्न समस्या रहेको विद्यालयका शिक्षिका तथा विद्यार्थीहरुको गुनासो छ । विद्यालयकी शिक्षिका मनिषा तामाङ भन्नुहुन्छ, ‘पुरुष शिक्षक तथा विद्यार्थीहरु त यताउता गर्छन, तर महिलालाई चाही साह«ै गाह«ो छ ।’

भुकम्प पछाडी क्षति भएका निजि आवास तथा सरकारी भवनहरुको तथ्यांक संकलन र अध्ययन गर्ने दर्जनौ सरकारी तथा गैर सरकारी संघसंसथाहरु प्रभावित क्षेत्रमा पुगे । उनीहरुले ल्याएको तथ्यांक सहि हुन नसक्दा अहिले हजारौ नागरिकहरुले दुखसास्ती भोगिरहनु परेको छ । दुख र समस्या भोग्नेमा विद्यालय क्षेत्रपनि अछुतो रहन सकेन । भुकम्प पश्चात क्षतिग्रस्त विद्यालयको तथ्यांक संकलन गर्न कार्यक्षेत्रमा पुगेका कतिपय संघ संस्थाहरु फिल्डमा नै गएर तथ्यांक संकलन गरे त कति आफुलाई पायक पर्ने स्थानमा वसेर जेमन लाग्छ त्यही तथ्यांक उतारे ।

ओखलढुङ्गामा पनि सिडा (CIDA) भन्ने संस्थाले तयार गरेको तथ्यांकमा ओखलढुङ्गामा रहेका सबै ३३१ ओटै विद्यालय पूर्ण रुपमा क्षति भएको तथ्यांक दियो । त्यसपछि विद्यालयको पुननिर्माणका आउने तथा प्राप्त हुन अनुदान रकमको बारेमा पहुँचवालाहरुको बोलवाला रह्यो । जिल्लाको क्षति भएका विद्यालयहरुको बास्तविक तथ्यांक आएन भन्ने गुनासो उठेपछि जिल्ला तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत नै पुन सम्बन्धित विद्यालयको शिक्षकहरु मार्फत नै तथ्यांक संकलन गर्यो । उक्त तथ्यांक अनुसार ओखलढुङ्गामा रहेका २ सय ६० विद्यालयमा चाही क्षति भएर नै विद्यालय तथा कक्षाकोठा निर्माण गर्नुपर्ने निकर्ष निक्ल्यो ।

फायल तस्वीर : नर्मदेश्वर अा. वि. सत्लुङ्ग

जिल्ला शिक्षा तथा समन्वय ईकाई ओखलढुङ्गाका प्रमुख खगेन्द्र श्रेष्ठ भन्नुहुन्छ,‘तथ्यांक फरक फरक आयो । सिडा भन्ने संस्थाले जिल्लाको सबै विद्यालयमा क्षति भन्ने तथ्यांक दियो । सम्बन्धित विद्यालयको शिक्षकहरु मार्फत नै बुझ्दा केही विद्यालयमा केही नै नभएको भन्ने पनि आयो । त्यसपछि के गर्ने गर्ने भन्ने दुविधा पनि भयो । पछि बढि क्षति भएका र आवश्यकताका आधारमा भवन तथा कक्षाकोठा निर्माणको लागि आएको योजना वितरण गर्दै आईएको छ ।’

पहुँचका आधारमा मात्रै भवन तथा शौचालय निर्माणको कोटा वितरण गरिएको भन्ने आरोपवाट जिल्ला शिक्षा समन्वय ईकाई ओखलढुङ्गा अछुतो रहन सकेन । आरोपका बारेमा जिल्ला शिक्षा तथा समन्वय ईकाई ओखलढुङ्गाका प्रमुख श्रेष्ठले घुमाउरो पारामा आरोप स्वीकार गर्दै भन्नुभयो, ‘आरोप नै आएजस्तो गरि आवश्यकता विहिन ठाँउमापनि सुरुमा नै दिईएको चाही हैन । तर बोलवाला चाही जहाँपनि अलिक अलिक चलिजान्छ ।’

पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा सञ्चालनमा रहेको सोच नेपालले ओखलढुङ्गाका चिशंखुगढी गाउँपालिका, मोलुङ गाउपालिका र सिद्धिचरण नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर निर्माणाधिन अवस्थामा रहेको विद्यालयलाई यथासिघ्र कसरी निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल तथा समन्वय पनि गरिरहेको छ । निर्माणाधिन अबस्थामा रहेको विद्यालय भवनलाई कसरी छिटो र गुणस्तरिय बनाउन सकिन्छ भनेर सरोकारवालालाई सहभागी गराएर छलफल गराउदै आएको सोच नेपालका जिल्ला अधिकृत बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा रहेको ट्रान्सपरेन्सी ईन्टरनेशनलको ओखलढुङ्गा शाखाले निर्माणाधिन अवस्थामा रहेको विद्यालयहरुको पूननिर्माणको अवस्थाका बारेमा सरोकारवालाहरुलाई सहभागी गराएर अवलोकन कार्यपनि गराउदै आएको छ । निर्माणको कार्यलाई तिब्रता दिन र निर्माणमा प्रयोग भएको सामाग्रीहरुको गुणस्तरका बारेमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले अबलोकनको कार्य गराउदै आएको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका संयोजक भोलामान विश्वकर्माले जानकारी दिनुभयो ।

कति क्षति भए त ?
जिल्ला शिक्षा समन्वय ईकाई ओखलढुङ्गाको तथ्यांक अनुसार ओखलढुङ्गामा उच्च मावि २ ओटाको ८५ कोठा, मावि ७ ओटा विद्यालयको १७६ कोठा, निम्न माद्यमिक विद्यालय १३ ओटाको १४७ कोठा, प्राथमिक विद्यालय ६२ ओटाको ३४६ कोठा गरि जम्मा ८४ विद्यालयका ७५४ कोठाको पूर्ण रुपमा क्षति भएको उल्लेख छ । त्यस्तै उच्च मावि २२ ओटाको १०४ कोठा, मावि ३७ ओटाको १२० कोठा, निमावि ३२ ओटाको १०८ कोठा, प्राथमिक ८५ ओटाको २५६ कोठा गरि जम्मा १७६ विद्यालयका ५८८ कोठाको आंशिक क्षति पुगेको छ । त्यस्तै अन्य उच्च मावि, मावि, निमावि, प्राविका गरि ३५१ कोठामा सामान्य क्षति पुगेको तथ्यांकमा उल्लेख छ भने ७० ओटा विद्यालयको ७६ ओटा शौचालय पनि पूर्ण रुपमा क्षति भएको छ ।

भूकम्प गएको तिन वर्ष वितिसक्दा पनि हाल सम्म भूकम्पले पूर्ण क्षति बनाएका सबै विद्यालयहरुको पूननिर्माणको कार्य भने अझै पनि हुन सकेका छैनन । जिल्ला शिक्षा तथा समन्वय ईकाई ओखलढुङ्गाको तथ्यांक अनुसार विभिन्न २ सय ६० विद्यालयको १ हजार ६ सय ९३ कक्षाकोठामा भूकम्पका कारण असर पुगेको तथ्यांक छ । क्षति भएका विद्यालयहरु मध्ये अहिले सम्म ७० ओटा विद्यालयको २ सय ४३ कक्षा कोठा सम्पन्न भएका छन् । विभिन्न विद्यालयको ८ सय ४५ कक्षाकोठा निर्माणको चरणमा रहेका छन् ।

हालसम्म साहस नेपालले २५, युनिसेफले २६, एशियाली विकास बैंकको सहयोगमा १९, जिल्ला शिक्षा कार्यालय मार्फत १८, राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ओखलढुङ्गा मार्फत ०७३/०७४ मा ४१ र ०७४/०७५ मा ५३ ओटा निर्माणको प्रकृयामा छन् । अरु बाकी क्षति भएका विद्यालयको पूननिर्माण हुने पालो कहिले आउने हो टुङ्गो हुन सकेको छैन ।

विद्यालयको भवन र कक्षाकोठा निर्माण गर्नका लागि प्राथमिकता दिनुपर्नेमा पहँुच र भनसुन गर्दै आवश्यकता नभएको विद्यालयमा पनि भवन, शौचालय र खेलमैदानका लागि बजेट हालिदिन माग गर्दै केही विद्यालयका प्रधानाध्यापकहरुले जिल्ला शिक्षा तथा समन्वय ईकाईमा निवेदन दर्ता गराई रहेका छन् । पटक पटक जिल्ला शिक्षा धाउदा पनि भूकम्पले क्षति भएको आफ्नो विद्यालयको पुननिर्माणको लागि कोटा पर्न नसकेकोमा गुनासो गर्दै एकजना प्रधानाध्यापकले भने, ‘अझैपनि जिल्लामा त पहँुचवालाहरुको नै हालिमुहाली रहेछ । हाम्रा बालबच्चालाई टिनको छानामुनी राखेर पढाउन सकिएको छैन । अरुलाई चाही शौचालय, खेलमैदान भैकनपनि सुधारका लागि बजेट चाहियो रे ।’