नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

दशदिन देखी चिसंखुगढी गाउँपालिकाको काम ठप्प

ओखलढुङ्गान्युज, साउन ११ ओखलढुङ्गा । चिसंखुगढी गाउँपालिकाले प्रशासनिक तथा समाजिक सुरक्षा भत्ता बितरण बाहेका कुनैपनि काम नगर्ने निर्णय गरेको छ । गाउँपालिकामा सुचना प्रणाली तथा बित्तिय कारोबारको पहुच नभएकाले नेपाल सरकार अन्तरगतको केन्द्र सरकार तथा प्रदेश सरकारका कुनैपनि योजनाहरु खर्च नगर्ने निर्णय गरेको हो ।

गाउँपालिमा हाल सुचना प्रणाली अन्तरगत टेलिफोन, ईन्टरनेट र बित्तिय कारोबार अन्तरगत बैंकिङ सेवा पुग्न सकेको छैन । जसका कारण गाँउपालिकाका साना—साना योजना सम्झौता तथा फर्छौटका लागी समेत सदरमुकाम धाउनुपर्ने बाध्यता छ । बित्तिय खर्च प्रणालीका लागी समेत ईमेल ईन्टरनेटको अनिवार्यता भएकाले जब सम्म गाउँपालिकालाई अधिकार प्राप्त काम, कर्तब्य गाउँपालिका तहबाटै गर्न सकिदैन तबजसम्म प्राशासनिक तथा समाजिक सुरक्षा भत्ता बितरण बाहेका कुनैपनि काम नगर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको नितिगत छलफल मार्फत नै बरु यसबर्ष मौन बस्ने र एक बर्षको बजेट समेत संबन्धित निकायमै फिर्ता पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । पटक पटक केन्द्र सरकारको मन्त्रालयमा धाएर समस्या सुनाउदा पनि सुनुवाई नभएपछि गाउँपालिकाले यस्तो निर्णय लिन बाध्य भएको पालिका अध्यक्ष शर्माको भनाई छ । गाउँपालिकामा देखीएका यस्ता समस्यालाई यथासिघ्र हल नभएसम्म बरु पछि बस्ने उहाँको भनाई छ ।

‘कर्मचारी छैनन् । कारोबार गर्न बैंक छैन । इन्टरनेट चल्दैन । कतिपय अधिकार जिल्लाले रोकेर राखेको छ । हामिलाई हातखुट्टा बाधेर प्रतिश्पर्धाका लागी पौडी पोखरीमा फाले जस्तो राज्यले गराएको छ,’ शर्माले भने । बैङ्किङ बित्तिय कारोबारहरु नजिकबाट गर्न नसकिएको भन्दै गाउँपालिकाको केन्द्र सरमुकामबाट सञ्चालन गर्नलाई समेत नागरीकप्रतिको उत्तरदात्यिवले त्यसो गर्न नमिल्ने शर्माको भनाई छ । समस्या समाधानको लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराई रहेका छौं । सकारात्मक जवाफ प्राप्त भएको भएपनि त्यसको पुरा हल नभएसम्म गाउँपालिकाको निर्णय जारी राख्ने अध्यक्ष शर्माले कताउनुभयो ।

गाँउपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी छैन भने ईन्टरनेट सेवा पुग्न सकेको छैन । सेवा प्रदायक निकायलाई ईन्टरनेट सेवाका लागी पहल गर्दा समेत थोरै बजेटमा सम्भव नहुने बताउने गरेको छ । गाँउपालिका जाने भनिएको कुमारी बैंकले समेत सुरक्षा र ईन्टरनेटको कारण देखाउदै पन्छिरहेको छ ।

कतिपय गाउँपालिका तहतबाट गर्नै नसक्ने कामहरु भएकाले बैंक कारोबार तथा टेलिफोन, ईन्टरनेटको ब्यवस्थापन नहुदाँ बिकास निमार्णका कामलाई अगाडी बढाउन सकेको छैन । यता गाउँपालिकाले स्थानिय स्तरमा थालेका र गर्नैपर्ने कामहरुमा पनि नितिगत समस्याका कारण अप्ठ्यारो परेको छ । बिशेषत शिक्षाका क्षेत्रमा बिद्यार्थी संख्याको अनुपात, दरबन्दी मिलान लगायतका क्षेत्रमा कार्यदल गठन गरी प्रतिबेदन तयार पारेको भएपनि अहिले सरुवा देखी डण्डा बोकेर बस्ने निकायलाई पनि संगसंगै प्यारलालमा राखेकाले कतिपय जायज कामहरु समेत गर्न नसकिएको अध्यक्ष शर्माको भनाई छ ।

यसले निर्वाचनका समयमा जनताले दिएको जिम्मेवारी र सरकाले दिएको अधिकारीलाई समेत कुण्ठित गरेको शर्माको ठम्याई छ । यसरी स्थानिय तह ९गाउँपालिका० मा देखिएको समस्या हल गर्न संघ सरकार र प्रदेश सरकार गम्भिर बन्नुपर्ने उनको भनाई छ । ‘कुरा मात्र भन्दा पनि अब काम गर्नुपर्ने बेला आएको छ । नागरीकलाई नजिक बाट सेवा दिनुपर्नेतर्फ सबैको ध्यान जानुपर्दछ,’ शर्माले भन्नुभयो । जसका लागी स्थानिय तहमा ईमेल ईन्टरनेट र बैङ्किङ सेवा पुग्न गरुरी छ ।

ओखलढुङ्गाको आठ स्थानिय तहमध्ये चिसंखुगढी, लिखु, सुनकोशी र चम्पादेवी गाउँपालिकामा हालसम्म पनि बैङ्किङ सेवा पुग्न सकेको छैन ।