नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

रसुवाको टिमुरेमा पहिरो, ५ जनाको मृत्यु, ४ अझै बेपत्ता

ओखलढुङ्गान्युज, साउन १० रसुवा । रसुवा जिल्लाको टिमुरे भन्ने स्थानमा बुधबार राति पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ को टिमुरे भन्ने स्थानमा बुधवार राति पहिरो जादा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परि ४ जना बेपत्ता छन् । पहिरोमा परी १२ जना घाइते छन् ।

बुधबार राति करीब १ बजे टिमुरेमा पहिरो खस्दा एक होटेल र दुईओटा टहरा पुरिएको हो । पहिरोमा परि मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेरुमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काको शव भेटिएको छ। पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा विहिवार दिउँसो १२ बजे थप एक जनाको शव भेटिएको छ। बेपत्ता रहेका ४ जनाको खोजी जारी रहेको छ ।

पहिरोले टिमुरेमा रहेको प्रहरीको बिट समेत पुरिएको छ । पहिरोले पार्क गरेर राखिएको २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ । मृतकहरु सबै सवारी चालक रहेको पनि प्रहरीले जनाएको छ ।

घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ । सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेको छ ।