नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भिजन आईडलमा छानिए ‘टप विस’

ओखलढुङ्गान्युज, असार २४ ओखलढुङ्गा । असार पहिलो साता देखी सुरुभएको भिजन आईडल सिजन २ को पछिल्लो चरणमा उत्कृष्ट बीस छनौट भएका छन् । विभिन्न चार जिल्लाको १२ स्थानमा भएको अडिसनमा सहभागि मध्ये छनौट भएका ९९ जना मध्येको उत्कृष्ट प्रतिस्पर्धाबाट टप ट्वान्टी अर्थात उत्कृष्ट बीस छानिएका हुन् ।

स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको खोजी गर्दै त्यसलाई थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो । ओखलढुङ्गामा गतवर्षबाट सुरु भएको भिजन आईडलको यसवर्ष सिजन २ भईरहेको छ । आयोजकका अनुसार ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलमा स्वदेश गान, सदावहार, लोक, आधुनिक तथा पप लगायतका विद्यागत प्रतिस्पर्धाबाट उत्कृष्ट बीस छानिएका छन् ।

भिजन आईडलको सिजन २ मा टप ट्वान्टीमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका अविन राई र रञ्जना गुरुङ, मानेभञ्ज्यागं गाउँपालिकाका विशु राई, नरेन्द्र राई, रोहित राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढी गाउँपालिकाका प्रकाश वि.क. छनौट भएका छन् ।

सुनकोशीका सरीता तामाङ, प्रशान्त तामाङ, सुस्मीता कट्वाल र मोनिका तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका रमेश राई, सुजन राई र सुनशेर चाम्लीङ कटारी नगरपालिकाका कृष्ण राई, खोटाङको रुपाकोटका विनोद भटराई र केदार अनुरागी र प्रवृती राई, हलेसिकी क्युमिला राई छानिएका छन् । उनिहरु मध्येबाट उत्कृष्ट १० छनौट गरिने छ । यो अडिसनबाट सिन्धुलीका सहभागी भने उत्कृष्ट २० मा पर्न सकेनन् । अडिसनको फाईनल साउन २ गते हुनेछ ।

भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका उत्कृष्ट १० लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सहभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।