नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

खेलकुदमा महिला सहभागिता अभिबृद्दिका लागी प्रशिक्षण सुरु

विवेश श्रेष्ठ/मनोज भट्टराई, असार २१ ओखलढुङ्गा ।  ‘महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प’ भन्ने मुल नाराका साथ ओखलढुङ्गामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्दि कार्यक्रम ०७५ सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद नेपालको आयोजना तथा जिल्ला खेलकुद बिकास समितिको संयोजनमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

३ दिनसम्म संचालन हुने कार्यक्रममा हरेक क्षेत्रमा हुने महिला हिंसा न्युनिकरणमा खेलकुदको भुमिका कस्तो रहने भन्ने विषयमा सहभागी विद्यार्थीहरुलाई प्रिशक्षण गरिने बताईएको छ । समाजमा महिला हिंसाका घटनाहरु बढ्दो भएका कारण बिद्यालय तहमा अध्ययनरत छात्राहरुलाई आत्मसुरक्षाकालागी अपनाउनु पर्ने उपायहरुका विषयमा सैद्धान्तीक तथा प्रयोगात्मक अभ्यास गराईने बताईएको छ ।

प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परीषदको प्रशिक्षक टोलीसँग ‘नेपाल मार्सल, सेल्फ डिफेन्स’का मुख्य प्रशिक्षक सन्जु महर्जन रहनुभएको छ । उद्घाटन कार्यक्रममा प्रशिक्षक महर्जनले सिद्धिचरण नगरपालीका उपप्रमुख ईच्छाकुमारी गुरुङ्गलाई साथमा लिएर समाजमा हुने महिला हिंसाबाट कसरी उम्कने भन्ने बिषयमा प्रयोगात्मक अभ्यास गरेर देखाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का ओखलढुङ्गा ‘ख’ का सांसद मोहन कुमार खड्काले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भएकोले खेल क्षेत्र सबै कार्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो । नेपालमा धेरै खेलाडीको जन्म भएपनि बिगतमा नातावाद र कृपावादका कारण कतिपय खेलाडिले लामो समय सम्म खेल खेल्न नसकेका बताउदै खड्काले अवका दिनमा खेलाडीले जिवन यापनमा लागि खेलकुदबाट भाग्नु नपर्ने पनि बताउनुभयो । प्रदेश सरकारले अवका दिनमा हरेक सामुदायिक बिद्यालयहरुमा खेलकुद शिक्षकको ब्यवस्थापन गर्ने गरि निती बनाउन लागिएको पनि बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष रुपलाल तामाङ्गले खेलमा भविष्य नभएका कारण देशमा सयौ खेलाडीहरु खेलबाट भाग्नु पर्ने बाध्यता रहेको बताउनुभयो । आफुपनि भलिबलको राष्ट्रिय रेफ्री भए पनि खेलबाट परीवार धान्न धौधौ पर्ने भएका कारण खेललाई पाखा लगाएर अन्य पेशामा आबद्ध हुनु परेको दुखेसो ब्यक्त गर्नुभयो । तर पनि आफु नअत्तालीएको र आउने पुष्तालाई पनि नआत्तिन अध्यक्ष तामाङले आग्रह समेत गर्नुभयो ।

तिन दिन सम्म चल्ने प्रशिक्षणमा ओखलढुंगाका महिला खेलाडी अर्थात बिद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिईने छ । विभिन्न विद्यालयका १२५ भन्दा बढि बिद्यार्थीलाई सेल्भ डिफेन्सका मुख्य प्रशिक्षक सन्जु महर्जन, तथा राधिका ऐर र रुवी दंगालले ३ दिन सम्म सैद्धान्तीक तथा ब्यवाहारीक प्रशिक्षण दिईने छ ।

प्रशिक्षण कार्यक्रम जिल्ला स्तरिय भनिएपनि सदरमुकाम आसपासका केही विद्यालयका छात्राहरुको मात्रै सहभागीता रहेको छ । प्रशिक्षणमा सदरमुकाम आसपासका बोर्डिङ स्कूलका छात्राहरुको उपस्थिती बाक्लो छ ।सदरमुकाममा रहेको लालिगुराँस बोर्डिङ स्कूलका ४५ जना, शुभलक्ष्मी बोर्डिङ स्कूलका ३५ जना र सोब्रु बोर्डिङ स्कूलका ३० जना छात्राहरु सहभागी छन् । सामुदायीक विद्यालयका विद्यार्थीको भने उपस्थिती न्यून छ ।

जिल्लाका सबै माद्यमिक विद्यालयलाई सहभागी गराउन पत्राचार गरिएको तर सामुदायीक विद्यालयहरुको वर्षे विदा गरिसकेको कारणले उनीहरुले सहभागीता नजनाएको जिल्ला खेलकुद विकास समितिका बाल कुमार खनालले बताए । तर प्रशिक्षणमा सभागिताको बारेमा आफूहरुलाई कुनैपनि खबर नभएको सदरमुकाम बाहिरका विद्यालयहरुले बताएका छन् ।