नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

युवाको कार्यक्रम, सभापती विना नै सुरु–सभापति विना नै समापन

ओखलढुङ्गान्युज, असार २१ ओखलढुङ्गा । कार्यक्रमको सभापति विना नै सुरु गरिएको कार्यक्रम सभापति विना नै ओखलढुङ्गामा युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बुधवार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला युवा समिति ओखलढुङ्गाको आयोजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

जिल्लाका युवाहरुलाई समेटेर गरिएको प्रतियोगीतामा आफ्नो व्यस्तता देखाउदै कार्यक्रमका सभापती र प्रमुख अतिथिले भने समय दिन चाहेनन् । प्रतियोगीताका सभापती जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ समयमा नै उपस्थिती नहुँदा कार्यक्रम झण्डै २ घण्टा पछाडी सुरु भएको थियो । कार्यक्रमको सुरुवात भएरपछि पुगेका कार्यक्रमका सभापतीले कार्यक्रमको समापन नै नभई आफ्नो व्यस्तता रहेको भन्दै बिचैमा हिडेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त पनि कार्यक्रम ढिला सुरुवात हुनेभएपछि आफ्नो व्यस्तता देखाउदै कार्यक्रम नै सुरु नभई उपस्थितीमा हाजिरी गरेर हिडेका थिए । सभापती र प्रमुख अतिथी प्रतियोगीता कार्यक्रममा नहुँदा देश निर्माणमा भविष्य बोकेका युवाहरुको सहभागीतामा भएको कार्यक्रम वेवास्ता गरेकोमा सहभागीहरुले कार्यक्रम खल्लो लागेको जनाएका थिए ।

कार्यक्रमको रमाईलो पक्ष त के थियो भने कार्यक्रम सुरु नभई प्रमुख अतिथीले हस्ताक्षर गरेर हिडे । सभापती नआई प्रतियोगीता कार्यक्रम सुरु भयो । बिचमा सभापतीको आसन ग्रहण भयो । कार्यक्रम नसकी सभापती निस्किए भने कार्यक्रमको समापन विशेष अतिथी शीप विकास तथा तालिम केन्द्र ओखलढुङ्गाका प्रमुख भविन्द्र खत्रीले गरे । यस्तो कार्यक्रम ओखलढुङ्गाको ईतिहासमा नै सायद पहिलो हो ।

प्रतियोगितामा चम्पादेवी गाउँपालिका ९ का सुविन चौलागाई प्रथम, सुनकोसी गाउँपालिका १० का जीवन खत्री दोश्रा, सुनकोसी गाउँपालिका ८ की शुशीला कार्की तेश्रा र मानेभञ्ज्याङ्ग गाउँपालिका ४ की प्रमीला राउतले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयीहरुले क्रमशः नगद ४ हजार, ३ हजार, २ हजार र १ हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

प्रथम स्थान हासिल गर्ने सुविन चौलागाईलाई असार २३ गते विराटनगरमा हुने प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगीतमा सहभागी हुने अवसर रहेको ओखलढुङ्गाका शिक्षा इकाई प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । चैलाईलाई विराटनगरमा हुने ‘समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयमा हुने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीतामा सहभागी जनाउन जान निर्देशन गरिएको छ ।

प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुन जानेलाई जिल्ला युवा समिति ओखलढुङ्गाको तर्फवाट आउने जाने र विराटनगरमा बस्ने सम्मको खर्चको व्यबस्था गरिएको जिल्ला युवा समिति ओखलढुङ्गाका कम्प्युटर अपरेटर विपना श्रेष्ठले जानकारी दिनुभयो ।