नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भिजन आईडलमा विधागत प्रतिस्पर्धा जारी

ओखलढुङ्गान्युज, असार २० ओखलढुङ्गा । ओखलढुङ्गामा जारी भिजन आईडल ‘सिजन २’ को दोश्रो चरण जारी रहेको छ । आईडलको दोश्रो चरण अन्तर्गत अहिले विद्यागत प्रतिस्पर्धा भईरहेको छ । ओखलढुङ्गाको सञ्चारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलमा असार १५ गते देखि निरन्तर विधागत प्रतिस्पर्धा भईरहेको हो । 

‘सिजन २’ को पहिलो चरणको अडिसनबाट छानिएका ९९ जनाले स्वदेश गान, सदावहार, लोक, आधुनिक तथा पप लगायतका विधामा प्रस्तुती देखाईरहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले यस्ता अभियानहरु सञ्चालन गर्ने गरिएको न्यौपानेको भनाई छ ।

ओखलढुङ्गामा गतवर्षबाट भिजन नेपालले भिजन आईडलको सुरुवात गरेको हो । आयोजकका अनुसार ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । चार जिल्लाका विभिन्न स्थानहरुमा भएको अडिसनमा ३ सय भन्दा बढिले भाग लिएका थिए । पहिलो चरणको अडिसनबाट छनौट भएकालाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईएको पनि आयोजकले जनाएको छ ।

विभिन्न विधागत प्रतिष्पर्धावाट उत्कृष्ट १० छनौट गरिने छ । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुङ्गाले जनाएको छ । भिजन नेपालको स्थापना दिनको अवसर पारेर अडिसनको फाईनल साउन २ गते हुनेछ ।

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सहभागिहरु सबैलाई प्रमाणपत्रको व्यबस्था गरिएको छ ।

आईडलमा गायकद्वय सचिन राई र प्रविण खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । भिजनले वर्षमा १ पटक माघ–फागुनमा नृत्य र १ पटक असार–साउनमा गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता गर्दै आएको छ ।