नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

एसईई पास भएपनि क–कसले पढ्न पाउदैनन् ११ कक्षा ?

ओखलढुङ्गान्युज, असार १६ काठमाडौं । केही वर्ष अगाडीवाट माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिएको छ । एसइइमा सहभागी परीक्षार्थीको परीक्षाफल ग्रेडमा प्रकाशित हुन्छ । कोहीपनि फेल नहुने प्रणाली लागू भएपनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।

फेल र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’ नीति लागू गरेको बताए पनि यसले विद्यार्थी र अभिभावकलाई अन्योल बढाएको छ । नपढेपनि यत्तीको त पास भइहालिन्छ भन्ने भ्रमका कारण विद्यार्थीले मेहनत नै नगरेको पाइएको शिक्षाविदहरुले बताएका छन् ।

२०७४ सालको एसईईको नतिजा गत असार ९ गते सार्वजनिक भयो । विगतमा झै यसवर्ष पनि विद्यार्थीहरु यस्तै गरी सबै ‘पास’ त भए तर ‘पास’ भएका सबै विद्यार्थीले अघिल्लो कक्षामा भर्ना हुन भने पाउनेछैनन् । परीक्षाफल १ दशमलव ६ जीपीए सम्म ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान भए पनि यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्छ ।

एसईईमा पास भएका तर १ दशमलब ६ जीपिए भन्दा कम ल्याएका विद्यार्थीले विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ । त्यसैगरि, व्यवस्थापन संकायमा ११ कक्षामा भर्ना हुन पाउने भएपनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस जीपीए ल्याएकै हुनुपर्छ ।

मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले पाउँछन्, तर उनीहरुले अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस आएकै हुनपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न समग्रमा कम्तीमा १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई जीपीए ल्याए पनि फरक पर्दैन ।

शिक्षाशास्त्र संकाय पढ्न विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस कम्तीमा आएकै हुनपर्ने व्यवस्था छ । अझ शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस ल्याउनैपर्ने प्राबधान छ ।

सरकारले ‘पास’ भनेका तर शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीले कुनैपनि विषयमा ११ कक्षामा भर्ना हुन पाउने छैनन् । उनीहरु यसअघिको पुरक परीक्षामा जस्तै स्तरोन्नती गर्न मिल्ने ९ग्रेड बृद्धि०को परीक्षामा सहभागि हुन सक्छन् । जहाँ उनीहरुले जीपीए बढाउने सम्भावना रहन्छ ।

२ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको जाँचै दिन पाउँदैनन् । सी, डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि परीक्षा सञ्चालन हुनेछ ।