नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सन्तानको पिडा, कहिलेकाँही त दुवै सन्तानलाई विष ख्वाएर आफू पनि मरौं झैं लाग्छ

ओखलढुङ्गान्युज, असार १५ ओखलढुङ्गा । नेपाल पितृसतात्मक परिवार छ । सबैकुरा छोराले नै गर्छ भन्ने परम्परा अझै पनि कायम छ । छोरा जन्माउन कै लागि भन्दै धेरै सन्तान जन्माउनेहरुको पनि कमी छैन यहाँ । त्यसैले नयाँ दम्पतीहरुले पहिलो सन्तानको रुपमा छोरा नै जन्माउदा खुशीको सिमा हुदैन । तर जन्मीएको सन्तान पनि अपाङ्ग प¥यो र कमाएको सबै उपचार खर्चमा नै सकाउनु पर्यो भने के सोच्लान् ?

ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा जन्मिएका दुई सन्तानका बाबुआमालाई त्यस्तै पिडा भएको छ । मानेभञ्ज्याङ गाउपालिका– ६, हिलेपानीका चित्रकुमार राई र मनिषा राईको १३ वर्ष अघि पहिलो सन्तान छोरा जन्मिए । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा राई दम्पतिको खुशीको सीमा थिएन । छोराको नाम उनीहरुले आयुष राई राखे ।

                                                               तस्बीर ः– कुम्भराज राईवाट

उनीहरुलाई छोरा जन्मिएपछि खुशी छाएपनि त्यो खुशी अहिले दुखमा परिणत भएको छ । छोरा आयुष जन्मिएको चार पा“च महिना सम्म उनीहरुलाई सामान्य लागिरहेको थियो । तर जब छोराको शारिरिक र मानसिक विकास अन्य बच्चा सरह भएन, त्यसपछि भने उनीहरुलाई पीर पर्न थाल्यो । अनेक पूजापाठ गरे । कुलपूजा गरे । धामीझांक्री लगाए । देवीदेवताका भाकल गरे । मन्दिरहरु धाए । तर पटक्कै सुधार भएन ।

राई दम्पतीले आफ्नो छोरालाई धामी, झाक्री लगाउने र देवीदेवता भाकल गरेर मात्रै राखेनन् । उनीहरुले छोरा आयुशलाई बनेपास्थित अपांग अस्पतालमा पु¥याए । त्यहाँ तीन महिना सम्म उपचार गराए । तरपनि आयुषको शारीरिक अबस्थामा खासै सुधार भएन ।

अनेक दुख गरेर जोगाएको र ऋण गरेर लगेको, भएको खर्च उपचारमा सकियो । तर उपचारवाट खासै सुधार नभएपछि उनीहरु निराश भएर घर फर्किए । पहिलो सन्तान जन्मिएको १० वर्षपछि उनीहरुले फेरी दोश्रो सन्तान जन्माउने निधो गरे । दोश्रो सन्तानको रुपमा छोरी जन्मिइन् । छोरीको नाम रोशनी राई राखे । तर रोशनीको अवस्था पनि फेरी आयुषकै जस्तो भयो । उनीहरु दुवैजना न त उठ्ने हिँडडुल गर्न सक्छन्, न त बोल्न नै ।

उपचारमा लगेर पनि आफ्ना बच्चाहरुको स्वास्थ्यमा कुनै सुधार नभएपछि त्यसयता कुनै दिन पनि यी राई दम्पतिको मुहारमा हाँसो देखिएको छैन । मनिषाका श्रीमान् चित्रकुमार गाउँमा नै रहेर बच्चाको उपचारको कुरा त परै जाओस्, आफ्नो विहान बेलुकाको छाक टार्न पनि धौ धौ भएपछि हाल रोजगारीका लागि विदेशिएका छन् । मनिषाको दिनरात ति दुई सन्तान स्याहारेरै जाने गर्छ । उनीहरुको लागि छुट्टै खाना बनाएर ख्वाउनुपर्छ । २४ सै घण्टा स्याहार गर्नुपर्छ ।

कहिलेकाँही त मनिषालाई दुवै सन्तानलाई विष ख्वाएर आफू पनि विष खाएर मरौं झैं लाग्ने गरेको बताउछिन् । ‘तर श्रीमानले यसरी मरियो भने समाजले हामीलाई छिछि दुरदुर गर्छन् । तिमि त यसो भन्छौ भने म कसको लागि कमाउँ ? कसको लागि बाचौ“ भनेर सम्झाउनुहुन्छ ।’ गहभरि आँशु पार्दै मनिषाले भनिन्, ‘श्रीमानकै कुरा सुनेर मर्न सकेको छुईन ।’

राज्यले दिने सुविधाको नाममा अपांगताको परिचयपत्र बनाई भत्ता भने पाईरहेका छन् । अर्को सन्तान जन्माउने आँट छैन । फेरी त्यस्तै जन्मिने हो कि भन्ने डर छँदैछ । यसो कहिलेकाँही घर बाहिर राख्नका लागि दुईवटा ह्विल चेयर भए सजिलो हुने भन्दै मनिषाले ओखलढुङ्गा सामुदायिक अस्पतालमा निवेदन दिएकी थिइन् । तैपनि त्यहा“बाट उनले ह्विल चेयर पाएकी छैनन् । मनिषाको परिवारको पिडा देख्न ओखलढुङ्गामा रहेका कुनै पनि गैरसरकारी संस्थाहरुको आँखा पुगेको पनि छैन ।

बच्चाको उपचार सम्भावना कत्तिको होला भनेर राम्रो चिकित्सक कहाँ पु¥याउने अन्तिम इच्छा छ । तर आर्थिक अबस्था कमजोर छैन । कतैवाट आर्थिक सहयोग भए बच्चाको उपचार हुन्थ्यो कि भन्ने आशा अझै जिवित छ । कसैले थेरापी गर्न सकेमा उनीहरुको हातखुट्टा सामान्य चल्छ कि भनेर आश देखाउँछन् । श्रीमानको कमाईले खान लाउन ठिक्क छ । बाँकी आर्थिक अवस्था कमजोरीले गर्दा मनिषा आफै निराश भईसकेकी छन् ।