नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, तपाईको ग्रेड फेरी चेक गर्नुस

ओखलढुङ्गान्युज, असार ११ काठमाण्डौं ।  एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको पाइएको छ । परीक्षाको नतिजा त्रुटीपूर्ण भएपछि सरोकारवालाहरुले परीक्षा नियन्त्रण कार्यालयमा फोन गरेर जानकारी गराएका थिए । कार्यालयमा जानकारी हुनासाथ नतिजा पुन चेक गर्दा त्रुटी भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार साँझ अबेर सूचना जारी गर्दै नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुनस् डाउनलोड गर्न अनुरोध गरेको छ ।

शनिवार अबेर रातीबाट मात्रै ईन्टरनेट मार्फत ग्रेड सिट हेर्न मिल्ने ब्यबस्था गरेको परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट मार्फत अविभावक, शिक्षक तथा विद्यार्थीहरुले ग्रेडसीट डाउनलोड गरेर नतिजा हेरेका थिए । शनिवार रातिदेखी आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा फरक–फरक जीपीए आएपछि कार्यालयलाई जानकारी गराएका थिए । त्यसलगत्तै बसेको परीक्षा बोर्डको बैठकले त्रुटि सच्याउने निर्णय गरेको थियो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटिका कारण नतिजामा गडबडी आएको स्वीकार गर्दै भन्नुभयो, ‘नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा ग्रेडसिट हेर्ने व्यवस्था गरेका थियौं । कार्यालयको साइटले डाटा सपोर्ट नगर्दा समस्या भयो । टेलिकमको साइटले भने आधिकारिक ग्रेडसिट देखाएको छ ।’

विषयअनुसारको ग्रेड प्वाइन्ट सफ्टवेयरले सपोर्ट नगर्दा समस्या आएको कार्यालयका प्राविधिकहरूको भनाइ छ । एसईई जस्तो परीक्षाको नतिजामा भएको चरम लापरबाहीले परीक्षार्थी र अभिभावकले तनाव ब्यहोर्नु परेको छ । परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले तनाब भोग्नु परेको भन्दै विभावकहरु रुष्ट भएका छन् ।

कार्यालयको त्रुटिले विद्यार्थी तथा अभिभावकले शनिबार र आइतबार तनावमा बिताए । आशा गरेअनुसारको नतिजा नआएपछि कतिपयले त पुनर्योगको योजना बनाइरहेका थिए । दुई थरी ग्रेटसिट भेटिएपछि कुन आधिकारिक हो भनेर पनि उनीहरू अन्योलमा परे । विषयअनुसार ग्रेड प्वाइन्ट फरक पर्दा जीपीए बढेर आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।