नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सरुवा भएका कर्मचारीलाई चौविस घण्टा भित्र रमाना दिई पठाउन मन्त्रालयको निर्देशन

ओखलढुङ्गान्युज, जेठ २९ काठमाण्डौं । सरुवा भएर पनि रमाना नदिईएका कर्मचारीहरुलाई चौविस घण्टा भित्र रमाना दिई कार्यालयमा हाजिरी हुन पठाउन मन्त्रालयले मातहतका कार्यालयलाई निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । 

संघिय पुनसंरचना निर्माण पश्चात बनेको स्थानीय तह र प्रदेशमा सरुवा भएका मातहतका कर्मचारीहरु सम्बन्धित कार्यालयमा अझै सम्म हाजिरी नभएको भन्द २४ घण्टाभित्र रमाना दिएर पठाउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो । मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले विभिन्न मन्त्रालयसहित १८ वटा निकायलाई सोमबार नै उक्त पत्र पठाएको जानकारी दिनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सबै निकायलाई मातहतका कर्मचारी स्थानीय र प्रदेशमा पठाउन २४ घण्टे सर्कुलर जारी गरेका हुन् । स्थानीय तह र प्रदेशमा कर्मचारी अभाव हुँदा त्यहाँको कामकाज प्रभावित हुँदै आएको छ । सरुवा भएका कर्मचारी विभिन्न बहाना बनाएर लुकिछिपी पुरानै मन्त्रालयमा बस्दै आएका छन् ।

विभिन्न मन्त्रालयमा रहेका खरिदार सुब्बादेखि उपसचिव स्तरका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा सरुवा गरेर पठाए पनि सरुवा भएका सयौं कर्मचारी हालसम्म स्थानीय तह र प्रदेशमा गएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसअघि पनि पटकपटक कर्मचारीलाई पठाउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै आएको छ । तर आफ्नो कार्यालयवाट कर्मचारी पठाउन ती मन्त्रालयहरुले अटेर गर्दै आएका छन् ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमाना नदिने विभागीय प्रमुखलाई समेत कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने तयारी गरिएको जानकारी दिएको छ । लामो समयअघि स्थानीय तहमा सरुवा भएर पनि कतिपय कर्मचारीले पुरानै निकायबाट तलब सुविधा लिँदै आएकाले अब उनीहरूलाई पुरानो ठाउँबाट तलब सुविधासमेत नदिन ती निकायको ध्यानाकृष्ट गराउने भएको अधिकारीको भनाइ छ ।