नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नर्मदेश्वर सेवा समाजको एेतिहासिक प्रथम साधारण सभा सम्पन्न

ओखलढुङ्गान्युज, जेठ २९ काठमाण्डौं । नर्मदेश्वर सेवा समाज ओखलढुङ्गाको ऐतिहासिक प्रथम साधारण सभा सम्पन्न भएको छ । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नंं ३ नर्मदेश्वरबाट काठमाडौं लगायतका विभिन्न स्थानहरुमा बसोबास गर्ने नर्मदेश्वरवासीहरुलाई समेटेर केही समय अगाडी यस संस्थाको स्थापना गरिएको थियो ।

गत शनिवार काठमाण्डौमा भएको साधारण सभाले अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समितिको चयन गरेको छ । संस्थाको उपाध्यक्षमा खम्बबहादुर श्रेष्ठ, सचिवमा टीकादास श्रेष्ठ र कोषाध्यक्षमा गोपाल कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरि संस्थाका अन्य निर्वाचित सदस्यहरुमा विष्णुहरि दाहाल, विनोदराज सुवेदी, रामबहादुर श्रेष्ठ, अर्जुन कुमार वाग्ले, रेणुका श्रेष्ठ, ज्ञाञ्जबहादुर श्रेष्ठ, कृष्ण थापा मगर, प्रेम मंग्राती, जानुका श्रेष्ठ (खड्का) निर्वाचित हुनुभएको छ ।

देश तथा विदेशका विभिन्न स्थानहरुमा रहनुभएका वडाबासीहरूको हक हितलाई मध्यनजर गरी प्रवासमा हाँसिल गरेको ज्ञान, सीप र अनुभवलाई गाउँको विकासमा उपयोग गर्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको संस्थाका निर्वाचित कोषाध्यक्ष गोपाल कुमार श्रेष्ठले बताउनुभयो । प्रवासमा रहेरपनि गाउँको विकासमा योगदान पु¥याउने र सहयोग जुटाउने संस्कारको विकास गर्ने उद्देश्यका साथ नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा–काठमाडौको स्थापना गरिएको संस्थाका सचिव टिकादाश श्रेष्ठले बताउनुभयो ।

ऐतिहासिक साधारणसभा कार्यक्रममा गामनाङटार सेवा समाज, यसम सेवा समाज, साँघुटार सेवा समाज रामेछाप–काठमाडौंका पदाधिकारीहरू र नर्मदेश्वरमा स्थायी बसोबास गरी हाल काठमाडौंमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नर्मदेश्वरबासीहरूको उपस्थिति रहेको थियो ।

साधारणसभामा उपस्थित बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै ओखलढुङ्गाको नर्मदेश्वर र रामेछापको साँघुटारको समेत पहिचानको रुपमा रहेको नर्मदेश्वर महादेवस्थानलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । भग्नाबशेषको रुपमा रहेको पार्टीको पुनर्निर्माण गरी अब यसलाई पाटीको रुपमा भन्दा पनि महत्वपूर्ण सङ्ग्राहलयको रुपमा विकास गरेर यसलाई पूर्वको हलेसी महादेवसँग जोड्न गाउँपालिका स्तरीय सामाजिक संघ संस्था तथा स्थानीय सरकारले विशेष जोड दिनुपर्ने बताएका थिए ।

ओखलढुङ्गाको साविकको नर्मदेश्वर गाविस हालको वडा नं. ३, लिखु गाउँपालिका प्रवेशको मुख्य प्रवेशद्वार समेत भएकाले यसले ओखलढुङ्गाको महत्वपूर्ण पर्यटकीय स्थल पोकली झरना देखाउने गरि विकास गर्नुपर्नेमा बक्ताहरुले बताएका थिए । त्यस्तै पोकली झरनाबाट फर्किएपछि नर्मदेश्वरमा कम्तीमा एक दिन बस्न सक्ने गरि होमस्टेको रुपमा नर्मदेश्वलाई विकास गराई पर्यटकमैत्री वडा बनाउन सकिने सम्भावना भएकाले त्यसको लागि नर्मदेश्वर सेवा समाजले पहल गर्न समेत आग्रह गरेका थिए ।

साधारण सभामा नर्मदेश्वर सेवा समाजको पहलमा संकलन गरिएको नर्मदेश्वरबासीहरूको सम्पर्क नम्बर समेटिएको टेलिफोन डायरीको विमोचन समेत गरिएको थियो । नर्मदेश्वर सेवा समाजले आफ्नो स्थापना भएदेखी नै सामाजिक संस्कार, संस्कृति, सामाजिक मूल्य मान्यता, सामाजिक ऐकेबद्धताहरू जस्ता समाजका आधारभूत कुराहरूलाई आत्मासात गरी त्यसकै आधारमा आधुनिक समाज निर्माण गर्ने कार्यको थालनी गरेको छ ।