नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

ओखलढुङ्गामा भिजन आईडलको दोश्रो संस्करण

ओखलढुङ्गान्युज, जेठ २७ ओखलढुङ्गा । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको खोजी गर्दै विकास गर्ने उद्धेश्यले ओखलढुङ्गामा भिजन आईडलको दोश्रो संस्करण सुरु भएको छ । भिजन आईडलको दोस्रो संस्करण ओखलढुङ्गामा शनिवारबाट सुरु भएको हो । भिजन आईडलको संस्करण गतवर्षबाट सुरुवात गरिएको थियो ।

आईडललाई हरेक वर्ष निरन्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘साहित्य र कलाको उर्वरभूमि ओखलढुङ्गालाई कला र गलाका माध्यमबाट थप विकास गर्ने उद्धेश्यले यो अभियान थालेका हौं । नेपालको पहिलो पटक रेडियो नेपालमा बज्ने गीतमा स्वर दिने गायिका मेलवा देवी देखि राष्ट्रिय गानका रचियता व्याकुल माईलाले चिनाएको ओखलढुंगालाई पछिल्लो पुस्ताले पनि कला मार्फत चिनाउने अवसर मिल्नेछ भन्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

सूचना र सञ्चारको क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष भिजन आईडल हुने गरेको छ । भिजनले वर्षमा दुई पटक १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

गतवर्ष ओखलढुङ्गाको विभिन्न क्षेत्रहरुमा मात्रै सञ्चालन भएको भिजन आईडलको अडिसन यसवर्ष भने छिमेकी जिल्लाहरुमा पनि विस्तार गरिएको छ । भिजन आईडलको अडिसन ओखलढुङ्गा, सिन्धुली, उदयपुर र खोटाङ गरी चार जिल्लाका १२ स्थानमा सञ्चालन गरिने भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले बताउनुभयो ।

शनिवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिमा भएको पहिलो अडिसनबाट अर्को चरणका लागि ८ जना छनौट भएका छन् । आयोजकका अनुसार जेठ २८ गते सुनकोशी गाउपालिकाको मुलखर्क, जेठ ३१ गते मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार, असार १ गते फिकल गाउपालिकाको खाङ्गसाङ्ग सिन्धुली, असार २ गते कटारी नगरपालिका १४ घुर्मी बजार उदयपुर, असार ४ गते दित्तेल बजार खोटाङ, असार ५ गते हलेसी बजार खोटाङ, असार ६ गते लिम्चुङबुङ गाउँपालिका उदयपुर, असार ८ गते चिशंखुगडी गाउँपालिका सेर्ना र असार १० गते मोलुङ्गगाउपालिका प्राप्चामा आइडलको अडिसन सञ्चालन हुनेछ ।

पहिलोे चरणको अडिसनबाट छनौट भएका लाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईने पनि आयोजकले जानकारी दिएको छ । पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले ओखलढुङ्गा सदरमुकाममा हुने अर्को चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् । उनिहरु मध्येबाट उत्कृष्ट १० लाई सहभागी गराएर अडिसनको फाईनल साउन २ गते गराईनेछ ।

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाणपत्रको साथमा नगद रु १० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागीहरु सबैलाई प्रमाणपत्र प्दान गरिनेछ । उत्कृष्ट प्रतियोगीहरुलाई गीत रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरि गित रेकर्डिङमा सहयोग पनि गरिने भिजन नेपाल ओखलढुङ्गाले जनाएको छ ।