नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

पूर्व माओवादी नेता ढुंगेललाई गृहजिल्लामा भव्य सम्मान

विवेश श्रेष्ठ, जेठ २४ ओखलढुङ्गा । पूर्व माओवादी नेता एवम् पूर्व संबिधान सभाका निर्वाचित सांसद बालकृष्ण ढुंगेललाई आफ्नो गृह जिल्ला ओखलढुङ्गामा भव्य स्वागत र सम्मान गरिएको छ । जेलवाट छुटेको केही दिनमा नै आफ्नो गृह जिल्ला ओखलढुङ्गा आएका ढुङ्गेललाई स्थानीय नागरिक सगै नेकपाका कार्यकर्ताहरुले गाउँगाउमा स्वागत गरेका छन् । गाउँगाउँमा औपचारिक अनौपचारिक कार्यक्रमको आयेजना गर्दै नेता ढुङ्गेललाई खादक तथा फुलको माला लगाएर सम्मान गरिदैछ ।

द्वन्द्वकालको समयमा एकजना व्यक्तिलाई हत्या गरेको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवस २०७५ जेठ १५ गते नेता ढुङ्गेल जेलमुक्त भएका थिए । जेलवाट छुटेर केहिदिन सम्म काठमाण्डौंमा नै सम्मान कार्यक्रममा व्यस्त रहेका ढुङ्गेल बुधबार ओखलढुङ्गा आएका थिए । उनी आउदै गरेको सूचना पाएपछि बुधवार उनलाई बाटाबाटैमा फुलमाला, अविर र खादकले स्वागत तथा सम्मान गरिएको थियो ।

ढुङ्गेललाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुङ्गामा औपचारिक कार्यक्रम गरेर बिहीबार विहान सम्मान गरेको हो । बुधवार र विहिवार मानेभञ्ज्यांगको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुङ्गा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा सम्मान गरिएको छ । निर्वाचित भएपछिको जनप्रतिनिधी झै अबको केही दिन सम्म जिल्लाका विभिन्न भू–भागहरुमा स्वागत तथा सम्मान कार्यक्रममा व्यस्त हुने उनको सेडुअल छ ।

स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा आएका ढुंगेलले जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुलाई झुठा मुद्दामा फसाईएको जिकिर गरे । आफु निर्दोष हुदाहुदैपनि झुटा मुद्दामा फसाएर कार्बाही भोग्न बाध्य पारिएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन ढुङ्गेलले आग्रह गरे ।

नेता ढुङ्गेलले आफु ओखलढुङ्गेली जनताको छोरा भएकाले जेलमुक्त हुनासाथ जनतासँग भेटघाट गर्न जिल्ला आएको बताए । पत्रकारहरुसँग कुराकानी गर्दै ढुङ्गेलले भने, ‘म जिल्लामा नै नभएको बेला मलाई उज्जनको हत्या गरेको भनेर झुठा आरोपमा फसाईयो । पत्रकार साथिहरुले घटना घटेकै भनिएको स्थलमा गएर अनुसन्धान गर्नुस् । अनि म हत्यारा नै भए हत्यारा नै लेख्नुस् । अनि त्यहाँका नागरिकले साच्चै बालकृष्ण फटाहा नै हो, त्यसलाई फासीदिनुपर्छ भनेर भनेछन् भने म हाँसी हाँसी फासीमा चढ्न तयार छु । घटनाको वास्तविक अन्वेषण होस् ।’ ढुङ्गेलले भने, ‘घटना घटेको भनिएको स्थानमा गएर वास्तविक खोजी गर्ने पत्रकार चाहीएको छ । जो नागरिकको आवाज बोलुन् । ओखलढुङ्गाको वास्तविक घटना छाडेर यूरोप र अमेरिका बसेर बालकृष्णको बारेमा लेख्ने पत्रकार हामीलाई चाहिएको हैन । तिनीहरुले लेख्ने समाचार र गरिने अदालती फैसला मलाई मञ्जुर छैन ।’

जिल्लाको विकास निर्माणको कामलाई सम्झदै नेता ढुङ्गेलले आफुले जननिर्वाचित हुदा सिंहदरवारको फाँचो गाउँगाउँमा ल्याउनुपर्छ भनेर चलाएको अभियानले अहिले पूर्णरुपमा नभएपनि धेरैहदसम्म सफलता पाएको भन्दै अबका दिनहरुमा आफु निर्वाचित जनप्रतिनिधी नभएपनि निरन्तर लागि पर्ने बताए । द्वन्द्वको समयमा माओवादी भएकै कारण तत्कालीन सरकारवाट पक्राउ गरिएका ढुङ्गेल अस्पतालमा उपचार गराइरहेका पनि छन् । पक्राउ परेर प्रहरी हिरासतमा रहँदा यातनाका कारण दुवै मृगौलाले काम नगर्ने भएपछि नियमित उपचारमा छन् ।

संबिधानसभाको पहिलो निर्वाचन २०६४ मा ढुङ्गेल ओखलढुङ्गा क्षेत्र नं. १ वाट भारी बहुमतका साथ निर्वाचित समेत भएका थिए । निर्वाचित भएपछि ढुङ्गेलले जिल्लाका विभिन्न स्थानहरुमा विकास निर्माणको काम गरेर विकासप्रेमी नेताको रुपमा आफ्नो छवीलाई स्थापित गरेका छन् । त्यही छवीका कारण अहिलेपनि ढुङ्गेल ओखलढुङ्गेली जनताका मनमस्तिष्कमा वस्न सफल भएका छन् । त्यसैले जेलवाट छुटेर गृहजिल्ला आउदा उनको स्वागत र सम्मानमा अविर र फुलमाला तथा खादाले सम्मान गर्नेहरुको भिड लाग्ने गरेको छ ।