नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा काम नगर्ने ठेकेदारहरुलाई कार्बाही

ओखलढुङ्गान्युज, जेठ १७ ओखलढुङ्गा । ओखलढुङ्गाका ठेकेदारहरुलाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कार्बाही थालेको छ । जिल्लाका विभिन्न स्थानहरुमा काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि जिल्ला प्रशासन कार्यालयले कारवाही प्रकृया सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाभर विभिन्न कामको जिम्मा लिएका ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधेको जनाएको छ । जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएकाले पहिलो चरणमा उनीहरुलाई स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

पहिलो चरणमा स्पष्टिकरण लिएर छाडिएको भएपनि तुरुन्तै कामको सुरुवात नगरे दोस्रो चरणमा ठेक्का रद्ददेखी गिरफ्तारसम्म गरिने प्रजिअ पन्तले जानकारी दिनुभयो । स्मरणीय कुरो त के छ भने जिल्ला प्रशासन कार्यालय सगै जोडिएको तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन निर्माण गरिसक्नुपर्ने चार वर्ष वितिसक्दा पनि भर्खर एकचौथाई पनि काम भएको छैन । यस अघिका प्रमुख जिल्ला अधिकारीहरुले पनि ठेकेदारहरुलाई काम गर्न दबाब दिदै स्पष्टिकरण सोधेको भएपनि कामले निरन्तरता पाउन सकेको थिएन । सुनकोसी गाउँपालिका र मोलुङ गाउँपालिका जोड्ले मोलुङखोलाको पुलको तत्काल सुरुवात गर्न माननिय सांसदहरुले ताकेता गरेर सहमती गरेको केही दिनमा नै काम छाडेर ठेकेदार हिडेका थिए ।

पहिलो कारवाही स्वरुप स्पष्टीकरण मात्र सोधेकाले नाम सार्वजनिक नगर्ने बताउदै प्रजिअ पन्तले काम सुरु नगरे पहिले अरुले झै चुप लागेर नबस्ने र कडा कारवाही गर्ने बताउनुभयो । जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएर पुल, विद्यालय भवन, स्वास्थ्य चौकी जस्ता पूर्वाधार निर्माण नगर्ने ठेकेदार एक दर्जन हाराहारीका ठेकेदारले काम अलपत्र छोडेका छन् । जिल्ला बाहिरका ठेकेदारले काम गरेन भन्नुभन्दा पनि जिल्लाकै ठेकेदारहरुले समेत काममा लापरबाही गरेको र समयमा नै काम सम्पन्न नगरेको स्थानीयको आरोप छ ।