नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

जिल्ला तहमा रहने ६ वटा मात्र कार्यालयहरु कुन् कुन् हुन् ?

ओखलढुङ्गान्युज, जेठ ११ काठमाडौँ । जिल्लामा रहेका सबै कार्यालयहरु अब स्थानीय तहमा गएपछि जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानअनुसार संघद्वारा सञ्चालित रहेका ६ वटामात्र जिल्ला कार्यालय मात्रै सदरमुकममा रहने छ ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र अब जिल्लामा रहनेछ । ती बाहेकका जिल्लामा रहेको सबै कार्यालयहरु स्थानीय तहमा जानेछन् ।

जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकारअन्तर्गत हुने भएका हुन् । उल्लेखित ६ वटा जिल्ला कार्यालय बाहेक अन्य कार्यालय स्थानीय तहअन्तर्गत रहने गरि आवश्यक ब्यबस्था गर्नका लागि मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ ।
केही तयारी नपुगेका कारण हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपनि स्थानीय तहको अधिकारमा जाने बताईएको छ ।

मन्त्रालयका अनुसार अहिले स्थानीय तहले जग्गासम्बन्धी काम गर्न सक्ने अवस्था छैन । त्यसैले तत्कालका लागि ती दुईवटा कार्यालय केन्द्र सरकारअन्तर्गत रहे पनि पछि स्थानीय सरकार मातहतमा नै जानेछन् । जिल्लामा रहने कार्यालयलाई यथास्थितिमा सञ्चालन हुनेसमेत मन्त्रालयले जनाएको छ । जिल्लाका कार्यालयहरु स्थानीय तहमा जानु अगाडी सम्म सदरमुकाममा पहिले करीब ३० वटा जिल्ला कार्यालय रहेका थिए ।