नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सगरमाथा राजमार्ग चार लेनको बनाउन माग गर्दै सांसदहरुको ज्ञापनपत्र

ओखलढुङ्गान्युज, जेठ ९ ओखलढुंगा । ओखलढुङ्गासहित पाँच जिल्लाका संघीय प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सरगरमाथा राजमार्ग चार लेनको बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई दुई बुँदे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा सांसदहरुले चतारा–घुर्मी (कोशी करिडोर) सडक छिटो अघि बढाउन ज्ञापनपत्र मार्फत माग गरेका हुन् ।

सांसदहरुले मन्त्री महासेठलाई दुई बुँदे ज्ञापन पत्र बुझाउँदै सगरमाथा सडकलाई चार लेनको बनाउन, कोशी करिडोरको काम ठेकेदारले नगरेकाले पुनः ठेक्का प्रकृया शुरु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । माग पत्रमा मार्डर–चोर्हवा–मिर्चैया–घुर्मी हुँदै ओखलढुंगा–सोलुखुम्बु सडक (सगरमाथा सडक) लाई चार लेनको बनाउन र चतारा–घुर्मी (कोशी करिडोर) छिटो अघि बढाउन माग गरिएको छ ।

चतारा–घुर्मी सडक सिद्धिचरण राजमार्ग र मध्यपहाडी राजमार्ग जोड्ने सडक भएकाले यथासिघ्र अघि बढाउन माग गरिएको ओखलढुङ्गावाट निर्वाचित साँसद यज्ञराज सुनुवारले बताउनुभयो । साँसदहरुको मागलाई आगामी कार्यक्रममा समावेश गर्न मन्त्री महासेठले सचिवलाई निर्देशन दिनुभएको छ । यी सडक निर्माण भएपश्चात सुनसरी, सिरहा, सप्तरी, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटागंका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सगरमाथा सडक र चतारा– घुर्मी सडक सम्पन्न भएमा सोलुखुम्बुबाट चिनसँगको नाका नाङ्पाला खोलेर चिनसँग सडक यातायातमा जोड्न सकिने साँसद सुनुवारे बताउनुभयो । सगरमाथा सडकलाई समुद्रदेखी सगरमाथा सम्म (सि टु एभरेष्ट) पर्यटकीय सडकका रुपमा विकास गर्ने अवधारणासहित पाँच जिल्लाका सांसदहरुले माग पत्र पेश गरेका जनाएका छन् । ज्ञापन पत्रमा सुनुवारसहित सांसदहरु हेमराज राई (सोलु), सुरेशकुमार राई (उदयपुर), लिलानाथ श्रेष्ठ (सिराहा) र जयकुमार राई (सुनसरी) ले हस्ताक्षर गरेका छन् ।