नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

युगकवि सिद्धिचरणको जन्मदिनमा सालिकमा माल्यार्पण

ओखलढुङ्गान्युज, जेठ ९ ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मदिनको अबसरमा ओखलढुङ्गामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युगकवि श्रेष्ठको १०९ औं जन्मजयन्तीको अवसर पारेर सिद्धिचरणको सालिक रहेको पार्कमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रम सुरुहुनुभन्दा अगाडी कार्यक्रममा उपस्थित भएका ब्यक्तित्वहरुले सालिकमा माल्यार्पण समेत गरेका थिए । माल्यार्पण पश्चात सुरु भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले २१ औं शताब्दीमा पनि युगकविको आवश्यकता र उनका रचना तथा सृजनाहरुको सान्दर्भिकताको बारेमा बोलेका थिए ।

युगकविको जन्मदिनको अवसरमा सहभागी साहित्यकारहरुले आ–आफ्नो साहित्य सृजना समेत बाचन गरेका थिए । विगतमा पनि युगकवि जयन्तीमा कविगोष्ठी, अन्तरक्रिया आदि हुने गरेको थियो । मेरो प्यारो ओखलढुङ्गा कविता लेखेर जिल्ला चिनाएका युगकवि सिद्धिचरण श्रेष्ठ पछिल्लो समयमा भने जन्मथलोमै बिर्सिइन थालेका छन् ।

बाल्यकाल ओखलढुङ्गामै बिताएका युगकविले मेरो प्यारो ओखलढुङ्गा कविता लेखेपछि प्रकृतिप्रेमी कविको रूपमा थप चर्चा समेत कमाएका थिए । १९६९ जेठ ९ मा जन्मिएका श्रेष्ठको २०४९ जेठ २२ मा निधन भएको थियो । सिद्धिचरण राष्ट्रको गहना थिए । अझ जिल्लाको लागि उनी महत्त्वपूर्ण व्यक्तित्वको रूपमा चिनिन्छन् ।