नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गणतन्त्र दिवसको अवसरमा माओवादी नेता ढुंगेल जेलमुक्त हुने

ओखलढुङ्गान्युज, जेठ ७ काठमाण्डौं । द्वन्द्वको समयको मुद्धाका कारण जेलमा वस्नु परेका पूर्व माओवादी नेता बालकृष्ण ढुङ्गेल जेलमुक्त हुने भएका छन् । तत्कालीन जनयुद्धको समयमा उज्जन श्रेष्ठको हत्या गरेको अभियोगमा जेल परेका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाह गरि गणतन्त्र दिवसको दिन पारेर सरकारले छाड्ने तयारी गरेको छ । सरकारले बाँकी कैद सजाय मिनाह हुने गरी उनलाई छाड्न लागेको हो ।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको हो । गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो। डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलाका आधारमा नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो ।

नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष हुन्छ । ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए । कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ । २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ । असल चालचलन भएको कैदीको प्रावधान लागू गरी उनलाई बाँकी कैद मिनाहा गर्न लागिएको हो । जेल जिवन भुक्तानी गरिरहेका नेता ढुङ्गेलले भने हत्या गरिएका भनिएका उज्जनको हत्यामा आफु सहभागी नरहेको जिकिर गर्दै आएका छन् । गणतन्त्र दिवसको अवसर पारेर ढुङ्गेललाई जेठ १५ गते जेल मुक्त गर्ने तयारी छ ।